काठमाडौं। लगानी बोर्ड नेपालले लगानीकर्तालाई सेवा प्रवाह सहज बनाउन एकल बिन्दु सेवा केन्द्र (वन स्टप सर्भिस सेन्टर) सञ्चालनमा ल्याएको छ। यससँगै लगानीसम्बन्धी प्रस्ताव अब सिधै अनलाइनमार्फत पेश गर्न सकिने भएको छ।
बोर्डले ‘ओएसएससी डट आइबिएन डट जीओभी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको छ, जहाँ लगइन गरेर लगानीकर्ताले आफ्नो प्रस्ताव दर्ता गर्न सक्नेछन्। बोर्डको आधिकारिक वेबसाइटमार्फत पनि उक्त सेवामा पहुँच लिन सकिने जनाइएको छ।
बोर्डका अनुसार सेवा केन्द्रसँग समन्वय गरी काम अघि बढाउन १४ सरकारी निकायलाई प्रणालीमा आबद्ध गरिँदैछ। कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अध्यागमन विभागलगायत निकाय डिजिटल प्रणालीमा एकीकृत हुने क्रममा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्रालय र निकायलाई पनि प्रणालीमा जोडिन पत्राचार गरिसकेको छ।
एकल बिन्दु सेवा केन्द्रका लागि सम्बन्धित निकायहरूले अख्तियारीसहित फोकल पर्सन तोकेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्रालयदेखि नेपाल राष्ट्र बैंक, उद्योग विभाग, विद्युत विकास विभाग, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकाय यसमा संलग्न छन्।
डिजिटल प्रणालीमा अझै आबद्ध नभएका निकायले आवश्यक कर्मचारी खटाएर सेवा केन्द्रमार्फत काम गर्नुपर्ने कानुनी व्यवस्था रहेको बोर्डले जनाएको छ। क्रमशः सबै निकायलाई डिजिटल प्रणालीमा ल्याउने योजना पनि अघि बढाइएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एकल बिन्दु सेवा केन्द्रले लगानीकर्तासँग सम्बन्धित प्रक्रियालाई छिटो र सहज बनाउने बताए। सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइने र आगामी दिनमा अधिकांश काम स्वचालित प्रणालीबाट हुने उनको भनाइ छ।
सेवा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि लगानी प्रस्तावको मूल्याङ्कनदेखि स्वीकृति प्रक्रिया, कम्पनी तथा कर दर्ता, उद्योग दर्ता, विदेशी विनिमय अनुमति, श्रम स्वीकृति, भिसा तथा अन्य आवश्यक अनुमतिहरू एउटै स्थानबाट उपलब्ध हुनेछन्। साथै परियोजनाका लागि आवश्यक निजी तथा सरकारी जग्गा व्यवस्थापन, वातावरणीय अध्ययन स्वीकृतिलगायत कार्यमा पनि सहजीकरण गरिनेछ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार स्थापना गरिएको यो व्यवस्था सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत अघि बढाइएको हो। सरकारले गत चैतमा सार्वजनिक गरेको सुधार कार्यसूचीमा एकद्वार प्रणालीमार्फत लगानीकर्तालाई निर्धारित समयभित्र सेवा दिने लक्ष्य राखिएको थियो।
आर्थिकन्यूज
प्रतिक्रिया