काठमाडौं। युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले उक्त प्रस्तावप्रति चासो नदेखाएको संकेत दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पनेतृत्वको प्रशासनले प्रस्ताव तत्काल स्वीकार गर्ने सम्भावना न्यून देखिएको जनाएको हो।
इरानले अमेरिकाले आर्थिक नाकाबन्दी हटाए युद्ध अन्त्य गर्ने र रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः खोल्ने प्रस्ताव पठाएको थियो। तर प्रस्तावमा आणविक कार्यक्रमबारे वार्ता रोक्ने शर्त राखिएकाले वासिङ्टन असन्तुष्ट बनेको हो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा कुनै पनि सम्झौताले इरानलाई भविष्यमा आणविक हतियार विकास गर्न नदिने सुनिश्चितता हुनुपर्ने स्पष्ट पारे।
“कुनै पनि अवस्थामा इरानलाई आणविक हतियारतर्फ अघि बढ्न नदिने ग्यारेन्टी हुनुपर्छ,” उनले भने। रुबियोका अनुसार प्रस्ताव पाकिस्तानमार्फत आएको हो र त्यसप्रति अमेरिका सशंकित छ। उनले इरान वार्तामा समय तान्ने रणनीतिमा दक्ष रहेको उल्लेख गर्दै सतर्कता आवश्यक रहेको बताए।
ह्वाइट हाउसले राष्ट्रपतिको राष्ट्रिय सुरक्षा टोलीले प्रस्तावबारे छलफल गरिसकेको जनाएको छ भने राष्ट्रपति ट्रम्पले यसबारे पछि औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ। यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले मस्को भ्रमणपछि प्रस्ताव सार्वजनिक गरेका हुन्। तेहरानको प्रमुख सहयोगी रुसको भूमिकाबारे भने अझै स्पष्टता आएको छैन।
युद्धको मानवीय क्षति भने तीव्र रूपमा बढ्दै गएको छ। इरानमा हालसम्म कम्तीमा ३ हजार ३७५ जनाको ज्यान गएको छ भने लेबनानमा २ हजार ५२१ जनाको मृत्यु भएको छ। इजरायल र इरान समर्थित हिजबुल्लाह बीचको द्वन्द्व चर्किँदै जाँदा क्षेत्रीय अस्थिरता गहिरिँदै गएको छ।
इजरायलमा २३ जनाको ज्यान गएको छ भने खाडीका अरब राष्ट्रहरूमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ। यसैबीच लेबनानमा १६ इजरायली सैनिक, क्षेत्रमा १३ अमेरिकी सैनिक तथा दक्षिणी लेबनानमा ६ जना संयुक्त राष्ट्रसंघका शान्तिरक्षक मारिएका छन्।
अमेरिकी अधिकारीहरूले इरानको गतिविधिलाई विश्व ऊर्जा सुरक्षाका लागि गम्भीर चेतावनीका रूपमा लिएका छन्। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपसचिव एलिसन हुक्करले क्रोएसियाको डुब्रोभनिकमा आयोजित बहुपक्षीय भेलामा हर्मुज जलघाँटीमा इरानको गतिविधिलाई ‘अवैध’ भन्दै त्यसले विश्व ऊर्जा आपूर्ति सुरक्षामाथि प्रश्न उठाएको बताइन्।
“यसले आपूर्ति शृङ्खला सुरक्षित बनाउने र अविश्वसनीय साझेदारमाथिको निर्भरता घटाउने आवश्यकता देखाएको छ,” उनले भनिन्। उनका अनुसार ऊर्जा स्रोतको विविधीकरण र अन्तरदेशीय सहकार्य सुदृढ बनाउने समय आएको छ।
रुबियोले इरानको आणविक महत्वाकांक्षा नै मुख्य समस्या रहेको दोहोर्याउँदै वर्तमान नेतृत्व कायम रहेसम्म भविष्यमा आणविक हतियार विकासको जोखिम कायम रहने बताए। “यो आधारभूत समस्या अझै समाधान भएको छैन, र यही अहिलेको सबैभन्दा ठूलो चिन्ता हो,” उनले भने।
आर्थिकन्यूज
प्रतिक्रिया