शीर्षकहरू

चालू आवमा आर्थिक वृद्धिदर ३.८५% मा सीमित हुने प्रक्षेपण, अर्थतन्त्र ६६ खर्ब पुग्ने

चालू आवमा आर्थिक वृद्धिदर ३.८५% मा सीमित हुने प्रक्षेपण, अर्थतन्त्र ६६ खर्ब पुग्ने

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार यस वर्ष अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान छ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको संशोधित अनुमान छ भने २०८०/८१ मा ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो।

आर्थिक वृद्धिदर मापनका लागि स्थिर मूल्यमा आधारित जीडीपी प्रयोग गरिएको छ। सोही आधारमा चालु आवमा आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा वृद्धिदर ३.८० प्रतिशत र उपभोक्ताको मूल्यमा ४.४३ प्रतिशत रहने संशोधित अनुमान छ भने २०८०/८१ मा क्रमशः ३.३८ प्रतिशत र ३.६८ प्रतिशत रहेको थियो।

कार्यालयका अनुसार उपभोक्ता मूल्यका आधारमा गरिएको उक्त प्रक्षेपणमा वास्तविक मूल्यमा आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने अनुमान गरिएको छ। उपलब्ध ६-८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो प्रक्षेपण तयार गरिएको हो।

गत आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिए पनि संशोधित तथ्यांकअनुसार ४.४३ प्रतिशतमा सीमित भएको थियो। त्यतिबेला अर्थतन्त्रको आकार करिब ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो।

सरकारले चालु आवको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। तर माघमा गरिएको अर्धवार्षिक समीक्षामार्फत अर्थ मन्त्रालयले उक्त लक्ष्य घटाएर ३.५ प्रतिशतमा झारेको थियो।

यसैबीच, विश्व बैंक ले गत चैतमा सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ मा चालु वर्ष आर्थिक वृद्धि अझै खुम्चिएर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको थियो।

सरकारी लक्ष्य र अन्तर्राष्ट्रिय संस्थाका प्रक्षेपणबीच फरक देखिए पनि चालु वर्ष नेपालको आर्थिक वृद्धि मध्यम स्तरमै सीमित रहने संकेत देखिएको छ।

null

क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि कमजोर रहने देखिएको छ। कृषि क्षेत्र १.५८ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्रको वृद्धि ४.५४ प्रतिशत रहने प्रक्षेपण छ। अघिल्लो वर्ष कृषि ३.०५ प्रतिशत र गैरकृषि ४.१२ प्रतिशतले बढेको थियो।

औद्योगिक संरचनाअनुसार प्राथमिक, द्वितीय र सेवा क्षेत्रको वृद्धिदर क्रमशः १.६३ प्रतिशत, ५.७७ प्रतिशत र ४.२१ प्रतिशत रहने अनुमान गरिएको छ। अघिल्लो वर्ष यी क्षेत्रहरूमा क्रमशः ३.०१ प्रतिशत, ३.४० प्रतिशत र ४.३६ प्रतिशत वृद्धि भएको थियो।

तथ्यांकले उत्पादनमुखी क्षेत्रको तुलनामा सेवा र गैरकृषि क्षेत्रको वृद्धि तुलनात्मक रूपमा बलियो देखिए पनि कृषि क्षेत्रको सुस्तताले समग्र आर्थिक विस्तारलाई सीमित बनाइरहेको संकेत गर्छ।

null

 

प्रतिक्रिया