शीर्षकहरू

प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक

प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकतामा राख्दै कृषि कर्जा प्रवाह बढाएको छ।

बैंकका अनुसार २०८२ चैत मसान्तसम्म कृषि क्षेत्रमा ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको छ। बैंकले आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ। साथै कृषि कर्जामा प्रशोधन शुल्कसमेत सहुलियत प्रदान गरिएको छ।

कुखुरापालन, बाख्रापालन, गाईभैंसीपालन र माछापालनजस्ता परियोजनामा लगानी गर्दै आएको बैंकले पछिल्लो समय विभिन्न प्रदेशका कृषि उत्पादनलाई लक्षित गर्दै विशेष कर्जा कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले ४.७५ प्रतिशत ब्याजदरमा ५ करोड रुपैयाँसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ उपलब्ध गराउँदै आएको छ। त्यसैगरी साना किसानलाई लक्षित गर्दै १० लाख रुपैयाँसम्मको ‘साना किसान सरल कर्जा’ बिना प्रशोधन शुल्क ४.७५ प्रतिशत ब्याजदरमा दिइँदै आएको बैंकले जनाएको छ। किसानका लागि ‘किसान क्रेडिट कार्ड’ सुविधा पनि सञ्चालनमा छ।

कृषि कर्जालाई व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति र कार्यविधि लागू गरेको छ। साथै केन्द्रीय कार्यालयमा कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी कृषि विज्ञ जनशक्ति परिचालन गरिएको छ।

बैंकले ७७ जिल्लामा रहेका ३१४ शाखामार्फत कृषि कर्जा प्रवाह गर्दै ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गरिएको जनाएको छ। समय–समयमा वित्तीय सचेतना कार्यक्रममार्फत किसानलाई कर्जासम्बन्धी जानकारी पनि दिइँदै आएको छ।

बैंकका अनुसार कृषि क्षेत्रमा गरिएको लगानीले यान्त्रीकरण, व्यवसायीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान पुगेको छ।

प्रतिक्रिया