काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सरोकारवाला र सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ ।
बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले बुधबार सूचना जारी गर्दै पूँजी बजारको व्यवस्थित, प्रभावकारी विकास तथा विस्तारका लागि रचनात्मक र कार्यान्वयनयोग्य सुझाव पठाउन आग्रह गरेको हो ।
सेबोनले प्रत्येक वर्ष धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी सार्वजनिक गर्दै आएको परम्परा अनुसार यस वर्ष पनि तयारी अगाडि बढाएको जनाएको छ ।
सूचना अनुसार लगानीकर्ता, सरोकारवाला तथा आम नागरिकले बजार सुधार, विकास र विस्तारसँग सम्बन्धित सुझाव दिन सक्नेछन् । इच्छुक व्यक्ति वा संस्थाले आगामी २०८३ जेठ १५ गतेभित्र बोर्डको आधिकारिक इमेल [email protected] मा आफ्ना राय तथा सुझाव पठाउनुपर्नेछ ।
प्राप्त सुझावहरूको अध्ययन गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने बोर्डले जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया