काठमाडौं । बैंकिङ क्षेत्रमा नाफा वृद्धि सकारात्मक देखिए पनि निष्क्रिय कर्जा उच्च स्तरमै कायम रहँदा कर्जा असुली र जोखिम व्यवस्थापनमा चुनौती थपिएको छ। केही बैंकमा सुधार देखिए पनि समग्र वित्तीय गुणस्तर अझै दबाबमै रहेको विश्लेषण गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको वित्तीय विवरणले बैंकिङ क्षेत्रमा मिश्रित अवस्था देखाएको छ। पछिल्लो तीन वर्षदेखि निरन्तर बढ्दै आएको निष्क्रिय कर्जा यस अवधिमा केही बैंकमा सुधार देखिए पनि समग्र रूपमा अझै उच्च स्तरमै रहेको छ।
२० वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा चालु आवको चैत मसान्तसम्म ५.२१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४.८२ प्रतिशत थियो भने पुस मसान्तमा ५.२६ प्रतिशत पुगेको थियो।
केही बैंकमा सुधार, केहीमा निरन्तर वृद्धि
वित्तीय विवरणअनुसार २० मध्ये ९ बैंकको निष्क्रिय कर्जा घटेको छ भने ११ बैंकको बढेको छ। सुधार देखिएका बैंकहरूमा सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, नेपाल बैंक र कुमारी बैंक रहेका छन्।
एभरेष्ट बैंक सबैभन्दा सुरक्षित देखिएको छ, जसको निष्क्रिय कर्जा ०.६१ प्रतिशतमा झरेको छ। नेपाल एसबीआई बैंकको २.५३ प्रतिशत र सिद्धार्थ बैंकको ३.१७ प्रतिशतमा सुधार भएको छ। राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको निष्क्रिय कर्जामा पनि गिरावट आएको छ।
जोखिममा रहेका बैंकहरू
तर केही ठूला बैंकहरूको निष्क्रिय कर्जा अझै उच्च स्तरमा रहेको छ। सबैभन्दा बढी निष्क्रिय कर्जा एनआईसी एसिया बैंकको ८.८५ प्रतिशत रहेको छ। त्यसपछि प्रभु बैंकको ८.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.४१ प्रतिशत र हिमालयन बैंकको ७.९८ प्रतिशत रहेको छ।
कुमारी बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकको निष्क्रिय कर्जा पनि ५ प्रतिशतभन्दा माथि छ।
बैंकिङ क्षेत्रको नाफा वृद्धि सकारात्मक देखिए पनि वितरणयोग्य नाफा कमजोर
निष्क्रिय कर्जा बढे पनि बैंकिङ क्षेत्रमा नाफा भने उल्लेख्य रूपमा वृद्धि भएको छ। २० वाणिज्य बैंकहरूले चालु आवको ९ महिनामा ४९ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १९.३० प्रतिशतले बढी हो।
नबिल बैंक ६ अर्ब ७६ करोड रुपैयाँ नाफासहित सबैभन्दा अगाडि रहेको छ। त्यसपछि ग्लोबल आइएमई बैंक र कुमारी बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
तर प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र एनआईसी एसिया बैंकको नाफा भने घटेको छ।
बैंकिङ क्षेत्रमा नाफा बढे पनि लगानीकर्तालाई बाँड्न मिल्ने रकम अत्यन्त सीमित रहेको देखाएको छ। २० बैंकले समग्रमा ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, तर, सो नाफामध्ये वितरणयोग्य नाफा मात्र ११ अर्ब ६३ करोड रुपैयाँ रहेको छ।
यसले बैंकहरूले देखाएको कागजी नाफा र वास्तविक रूपमा सेयरधनीलाई बाँड्न मिल्ने रकमबीच ठूलो अन्तर रहेको संकेत गरेको छ। बैंकहरूको खुद नाफा र वितरणयोग्य नाफाबीच करिब ३७ अर्ब ६० करोड रुपैयाँको अन्तर देखिएको छ।
बैंकहरूले लेखांकन प्रणालीअनुसार आम्दानीमा समावेश गर्ने ब्याज आम्दानी वास्तविक रूपमा असुल नभएसम्म वितरणयोग्य हुँदैन। त्यस्तै, नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार विभिन्न कोषमा रकम छुट्याउनुपर्ने र निष्क्रिय कर्जाका लागि नोक्सानी व्यवस्था गर्नुपर्ने भएकाले पनि वितरणयोग्य नाफा घटेको हो। यही कारण केही बैंकहरूले अर्बौं नाफा देखाए पनि सेयरधनीलाई लाभांश बाँड्न नसक्ने अवस्था बनेको छ।
वित्तीय विवरणअनुसार प्रभु बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र सिटिजन्स बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ। कुमारी बैंकले नाफामा उल्लेख्य वृद्धि गरे पनि पुरानो सञ्चित घाटाका कारण अझै घाटामै रहेको देखिन्छ। समग्रमा २० मध्ये ६ बैंक सञ्चित घाटामा रहेका छन् भने बैंकिङ क्षेत्रको कुल सञ्चित घाटा करिब १० अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा केही बैंकहरू भने लाभांश दिन सक्ने अवस्थामा देखिएका छन्। एभरेष्ट बैंक, नबिल बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा सकारात्मक रहेको छ भने एभरेष्ट बैंक लाभांश क्षमताका हिसाबले सबैभन्दा अगाडि देखिएको छ। नबिल र सिद्धार्थ बैंक पनि तुलनात्मक रूपमा बलियो अवस्थामा रहेका छन्।
समग्रमा बैंकिङ क्षेत्रको नाफा वृद्धि सकारात्मक देखिए पनि वितरणयोग्य नाफा कमजोर हुँदा लगानीकर्ताको प्रतिफलमा दबाब देखिएको छ। बैंकिङ क्षेत्र अझै पनि निष्क्रिय कर्जा, ब्याज असुली र सञ्चित घाटा व्यवस्थापन जस्ता चुनौतीसँग जुधिरहेको विश्लेषण गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया