शीर्षकहरू

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । सरकारले अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले बुधबार फेरि भाडा वृद्धि गरेको हो । विभागका अनुसार मन्त्रीस्तरीय निर्णयबाट यात्रुवाहक तथा मालवाहक दुवै सवारी साधनमा नयाँ भाडादर लागू गरिएको हो।

विभागका निर्देशक मणि भुसालले इन्धनको मूल्यमा उल्लेख्य वृद्धि भएपछि सोही आधारमा भाडा समायोजन गरिएको जानकारी दिए । उनका अनुसार यात्रुवाहक, तराईको बाटोमा चल्ने र पहाडको बाटोमा चल्ने मालबाहक गाडिको भाडा ५ प्रतिशतका दरले वृद्धि गरिएको हो । यस अघि सरकारले चैत २५ गते यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको थियो ।

विभागले जारी गरेको सूचनाअनुसार डिजेलको मूल्य पछिल्लो समय ३० प्रतिशतभन्दा बढीले बढेको छ। यसले सञ्चालन खर्च बढेपछि भाडा पनि बढाइएको हो । नयाँ भाडादर विद्युतीय सवारीको हकमा भने लागु हुने छैन । दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने अन्तरप्रदेशीय सार्वजनिक यातायातमा लागू हुने गरी भाडादर समायोजन गरिएको हाे। नयाँ भाडादर बुधबारदेखि नै लागु हुनेछ ।

इन्धन मूल्यमा २० प्रतिशत वा सोभन्दा बढी परिवर्तन भएमा सवारीको भाडा सोही अनुसार स्वतः समायोजन गर्ने व्यवस्था छ। 

null

प्रतिक्रिया