शीर्षकहरू

कोइका–एडीबीएल सहकार्य : कोरियाबाट फर्किएका श्रमिकका लागि २५ लाख डलर ब्याज सहुलियत

कोइका–एडीबीएल सहकार्य : कोरियाबाट फर्किएका श्रमिकका लागि २५ लाख डलर ब्याज सहुलियत

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कृषि विकास बैंक लिमिटेड (एडीबीएल) बीच कोरियाबाट फर्किएका नेपाली श्रमिकको पुनःस्थापना र उद्यमशीलता प्रवर्द्धनका लागि वित्तीय पहुँच विस्तार गर्ने कार्यक्रम सुरु गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साक्षीमा सुरु गरिएको यस पहलअन्तर्गत कोइकाले २५ लाख अमेरिकी डलर (करिब ३३ करोड रुपैयाँ) ब्याज सहुलियतका लागि उपलब्ध गराउनेछ। एडीबीएलले भने करिब १ अर्ब २० करोड रुपैयाँ बराबरको कर्जा पूँजी परिचालन गर्नेछ।

परियोजनाबाट करिब २०० देखि २५० जना लाभान्वित हुने अपेक्षा गरिएको छ। औसत कर्जा रकम ५० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। कार्यक्रममा “के-हामी” परियोजनाअन्तर्गत उद्यमशीलता तालिम पूरा गरेका कोरिया फर्किएका श्रमिकहरू सहभागी हुन सक्नेछन्।

कार्यक्रमको उद्देश्य विदेशमा आर्जित सीप र अनुभवलाई स्वदेशमै लगानीमा रूपान्तरण गर्दै उद्यम विकास र रोजगारी सिर्जना गर्नु रहेको छ। वित्तीय पहुँचको अभाव हटाउँदै फर्किएका श्रमिकलाई व्यवसाय सुरु गर्न प्रोत्साहन गरिनेछ।

कोइकाका नेपाल प्रमुख मूहन कोङले तालिमप्राप्त र पुनःस्थापनामा प्रतिबद्ध श्रमिकलाई लक्षित गरी कार्यक्रम ल्याइएको बताए। श्रम मन्त्रालयका सहसचिव कृष्ण सापकोटाले यस्तो कार्यक्रमले पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

एडीबीएलका नायब महाप्रबन्धक सुदीप दाहालले बैंक उद्यम विकास र युवा रोजगारी सिर्जनामा सक्रिय रहने जनाए।

यस सहकार्यले श्रम आप्रवासनलाई दीर्घकालीन आर्थिक अवसरमा रूपान्तरण गर्दै फर्किएका श्रमिकलाई उद्यमीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया