काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ एकीकृत निर्देशन, २०८२ जारी गरेको छ। यसमार्फत विद्युतीय भुक्तानी, कार्ड सञ्चालनदेखि जोखिम व्यवस्थापनसम्मका व्यवस्थालाई समेट्दै नियमनलाई थप व्यवस्थित बनाइएको छ।
केन्द्रीय बैंकले यसअघि जारी ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१’ र त्यसपछि जारी परिपत्र तथा संशोधनहरूलाई समेटेर नयाँ निर्देशन ल्याएको हो। यो निर्देशन भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ अनुसार जारी गरिएको हो।
नयाँ निर्देशनमा विद्युतीय भुक्तानी कार्ड सञ्चालन, दूरसञ्चार सञ्जालमार्फत भुक्तानी सेवा, इ–मनी (वालेट) सेटलमेन्ट, कारोबार सीमा र शुल्क निर्धारणसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। साथै, विद्युतीय भुक्तानी प्रणालीको सुरक्षा, वार्षिक वित्तीय विवरण प्रकाशनअघि स्वीकृति, शाखारहित बैंकिङ सेवा र संस्थागत सुशासनसम्बन्धी प्रावधान पनि समावेश छन्।
यससँगै जोखिम व्यवस्थापन, ग्राहक हित संरक्षण, सम्पत्ति शुद्धीकरण निवारण तथा भुक्तानी प्रणालीको अन्तरआबद्धता र पहुँच विस्तारसम्बन्धी विषयलाई पनि निर्देशनले समेटेको छ।
निर्देशनसँगै कार्ड जारी गर्ने अधिकारमा पनि स्पष्टता ल्याइएको छ। अनुमतिपत्रप्राप्त वाणिज्य बैंकहरूले सरकारले तोकेका सडक तथा सडक खण्डमा चल्ने सवारी साधनबाट सडक उपयोग दस्तुर संकलनका लागि विशेष कार्ड जारी गर्न सक्नेछन्।
राष्ट्रियस्तरभन्दा बाहिरका विकास बैंक, फाइनान्स कम्पनी तथा राष्ट्रियस्तरका लघुवित्त संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न पाउने व्यवस्था गरिएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाहरूले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा आधारित प्रिपेड कार्ड मात्र जारी गर्न पाउनेछन्।
केन्द्रीय बैंकका अनुसार नयाँ निर्देशनले डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्य राखेको छ। पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको डिजिटल कारोबारलाई व्यवस्थित गर्न यो कदम महत्वपूर्ण मानिएको छ।
डेबिट कार्डबाट नगद झिक्ने सीमा घट्यो, एटीएम निकासीमा कडाइ
राष्ट्र बैंकले डेबिट कार्डमार्फत हुने नगद निकासीको सीमा घटाएको छ। नयाँ व्यवस्थाअनुसार एटीएमबाट रकम झिक्ने सीमा २० देखि ५० प्रतिशतसम्म घटाइएको हो।
अब डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न पाइनेछ। यसअघि प्रति कारोबार २५ हजार रुपैयाँ निकाल्न पाइन्थ्यो। त्यसैगरी दैनिक सीमा १ लाखबाट घटाएर ५० हजार र मासिक सीमा ४ लाखबाट घटाएर ३ लाख रुपैयाँ कायम गरिएको छ।
नयाँ निर्देशनमा प्रिपेड र क्रेडिट कार्डको सीमा भने परिवर्तन गरिएको छैन। बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डमा प्रति कारोबार १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँको सीमा यथावत राखिएको छ।
त्यसैगरी क्रेडिट कार्डको कारोबार सीमामा पनि कुनै हेरफेर गरिएको छैन।
बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायकले जारी गर्ने प्रिपेड कार्डमा दैनिक ५ हजार र मासिक २५ हजार रुपैयाँको सीमा यथावत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न सीमा तथा प्रावधानहरू समयानुकूल परिमार्जन गर्दै आएको छ। नयाँ व्यवस्थाले नगद निकासीमा नियन्त्रणसँगै जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया