शीर्षकहरू

सिद्धार्थ इक्विटी फण्ड-२ सार्वजनिक निष्कासनमा आउने, वैशाख २१ देखि आवेदन खुला

सिद्धार्थ इक्विटी फण्ड-२ सार्वजनिक निष्कासनमा आउने, वैशाख २१ देखि आवेदन खुला

काठमाडौँ। सिद्धार्थ क्यापिटल लिमिटेड ले सामूहिक लगानी कोषअन्तर्गत नयाँ योजना ‘सिद्धार्थ इक्विटी फण्ड–२’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ। क्यापिटलले उक्त योजना वैशाख २१ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ।

कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई प्रतिइकाई १० रुपैयाँ अंकित दरमा निष्कासन गरिनेछ। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १२ वर्षे बन्दमुखी (क्लोज-एन्डेड) प्रकृतिको हुनेछ।

निष्कासन गरिने कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्धक सिद्धार्थ बैंक लिमिटेड का लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। उक्त योजनामा वैशाख २४ गतेसम्म आवेदन दिन पाइनेछ। सो अवधिसम्म सबै इकाई बिक्री नभएमा निष्कासन अवधि जेठ ४ गतेसम्म लम्ब्याइने व्यवस्था गरिएको छ।

योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेड ले नै सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत अनलाइन आवेदन दिन पनि सकिनेछ।

यस योजनाको क्रेडिट रेटिङ्गका क्रममा इक्रा रेटिङ्ग नेपाल ले कोष प्रवर्धकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग दिएको छ।

प्रतिक्रिया