काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाललाई साढे १२ खर्ब रुपैयाँ व्यापार घाटा भएको छ । चालु आव २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्म १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ ।
गत आवको सोही अवधिको तुलनामा व्यापार घाटा १३.०४ प्रतिशतले बढेको हो । गत आवको ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ घाटा लागेको थियो । विभागका अनुसार यस अवधिमा व्यापार घाटासँगै बस्तु तथा सेवा आयात, निर्यात र कुल वैदेशिक व्यापार सबै वृद्धि भएको छ ।
१३.८३ प्रतिशतले वृद्धि भएर पछिल्लो ९ महिनामा १४ अर्ब ९० अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ । जुन गत वर्षको सोही अवधिमा १३ खर्ब ९ अर्ब रुपैयाँको आयात भएको थियो । यस्तै, १८.४६ प्रतिशतले निर्यात बढेको छ । पछिल्लो ९ महिनामा २ खर्ब २२ अर्बको निर्यात हुँदा गत वर्षको सोही अवधिमा १ अर्ब ८८ अर्बको निर्यात भएको थियो ।
कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको ९ महिनामा १४ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार हुँदा चालु आवको सोही अवधिमा १७ खर्ब १३ अर्ब रुपैयाँको व्यापार भएको छ । कुल वैदेशिक व्यापारमध्ये ८६.९९ प्रतिशत आयात र १३.०१ प्रतिशत निर्यात रहेको छ । यस अवधिमा नेपालले १६७ देशसँग व्यापार गरेको छ । जसमध्ये ३५ देशसँग व्यापार नाफा रहेको छ भने १२२ देशसँग व्यापार घाटा रहेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया