शीर्षकहरू

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा मुद्दती निक्षेपका रूपमा राख्ने जनाएको हो।

राष्ट्र बैंकका अनुसार लगानी हुने रकममध्ये वाणिज्य बैंकमा ८ अर्ब रुपैयाँ, विकास बैंकमा १ अर्ब ५० करोड रुपैयाँ र वित्त कम्पनीमा ५० करोड रुपैयाँ छुट्याइएको छ।

उक्त निक्षेप ३६६ दिनको अवधिका लागि रहनेछ। निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबार (वैशाख १० गते) भित्र आवेदन दिनुपर्नेछ।

केन्द्रीय बैंकले आवेदन दिने संस्थाका लागि विभिन्न शर्त तोकेको छ। संस्थाले कम्तीमा दुई वर्ष सञ्चालन अवधि पूरा गरेको हुनुपर्ने, न्यूनतम पुँजीकोष (बफरसहित) कायम गरेको हुनुपर्ने तथा निष्क्रिय कर्जा अनुपात ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, खुद तरल सम्पत्ति तोकिएको सीमाभित्र हुनुपर्ने, कर्जा–निक्षेप अनुपात नियामक सीमाभित्र रहनुपर्ने र अघिल्लो आर्थिक वर्षमा नाफामा रहेको हुनुपर्ने सर्त पनि राष्ट्र बैंकले राखेको छ।

यसका साथै, शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाले फुकुवा भएको कम्तीमा ६ महिना पूरा गरेको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया