शीर्षकहरू

नेपाल लाइफकाे नयाँ याेजना : व्यतीत बीमालेख पुनर्जागरण गर्दा १०० प्रतिशत छुट

नेपाल लाइफकाे नयाँ याेजना : व्यतीत बीमालेख पुनर्जागरण गर्दा १०० प्रतिशत छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ।

वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानीमार्फत त्यस्ता व्यतीत बीमालेखहरू पुनः सक्रिय गरी बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको महसुस गर्दै कम्पनीले मिति वैशाख ७ देखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट प्रदान गर्ने गरी विशेष बीमा पुनर्जागरण योजना लागू गरेको छ।

रजत जयन्तीको अवसरमा कम्पनीद्वारा बीमितहरूका लागि पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याइएको हो। ३० दिनको अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतीत भएका आम बीमितहरूले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन्।

नेपाल लाइफ देशकै अग्रणी जीवन बीमा कम्पनी हो, जसले करिब ३० प्रतिशतसम्मको बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि लाखौं नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजार भन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ। सेवाप्रति उच्च प्रतिबद्धताका कारण कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको निरन्तर उदाहरण प्रस्तुत गर्दै आएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने, 'नेपाल लाइफ इन्स्योरेन्सले विगतदेखि नै ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिहरूको परिणाम हुन सक्छ भन्ने यथार्थलाई मध्यनजर गर्दै, ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना कार्यान्वयनमा ल्याइएको हो।'

प्रतिक्रिया