काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो।
कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँको २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर (८ करोड ६० लाख रुपैयाँ) आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।
स्थानीयतर्फ सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का अति प्रभावित बासिन्दालाई ३ लाख ४४ हजार कित्ता सेयर छुट्याइएको छ भने बाँकी ५ लाख १६ हजार कित्ता सोही नगरपालिकाका अन्य वडाका बासिन्दालाई वितरण गरिनेछ।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सोलुखुम्बु (सल्लेरी) शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
स्थानीय बासिन्दाले आवेदन फाराम लिन २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता अवधि ६.४० वर्ष र डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि ८.९४ वर्ष रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया