शीर्षकहरू

याम्बालिङ्ग हाइड्रोको आईपीओ वैशाख १६ देखि: सर्वसाधारणका लागि १७.४३ लाख कित्ता

याम्बालिङ्ग हाइड्रोको आईपीओ वैशाख १६ देखि: सर्वसाधारणका लागि १७.४३ लाख कित्ता

काठमाडौँ। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि वैशाख १६ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन खुला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्यको २८ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ। यसैगरी, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि विनियोजन भइसकेको छ।

अब बाँकी रहेको १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा वैशाख २२ गते तोकिएको छ भने आवश्यक परेमा निष्कासन अवधि वैशाख ३० गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

क्रेडिट रेटिङ्गतर्फ केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर मार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ।

कम्पनीले ७.२७ मेगावाट क्षमताको ‘याम्बालिङ्ग खोला जलविद्युत आयोजना’ सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी रहेको जनाइएको छ। साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष र छुट दर (डिस्काउन्ट) सहित १९.८७ वर्ष रहने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया