काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना सुरक्षा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा ISO प्रमाणपत्र हासिल गरेको छ ।
बैंकले ISO 9001:2015 (गुणस्तरीय व्यवस्थापन प्रणाली) र ISO 27001:2022 (सूचना सुरक्षा व्यवस्थापन प्रणाली) प्रमाणपत्र प्राप्त गरेको हो। यससँगै बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय ISO प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश भएको छ ।
लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’का लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा सीईओ उपाध्यायले बैंकले गुणस्तरीय सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
बैंकका अनुसार हाल देशभर १२६ शाखामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान भइरहेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया