काठमाडौं। माछापुच्छ्रे बैंकले सूचना प्रविधि (आईटी) क्षेत्रलाई लक्षित गर्दै ‘एमबीएल आइटी कर्जा सेवा विस्तार’ योजना सुरु गरेको छ। डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बैंकले नयाँ कर्जा कार्यक्रम अघि सारेको हो।
बैंकका अनुसार यस योजनाले सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई पुँजी, पूर्वाधार र सञ्चालन विस्तारका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउनेछ। यसले नेपालमा विकसित हुँदै गएको आईटी क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यो कर्जा सुविधा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका व्यवसायीलाई मात्र उपलब्ध हुनेछ। विशेषगरी एकल वा साझेदारीमा सञ्चालन हुने आईटी कम्पनी, प्राइभेट लिमिटेड कम्पनीहरू तथा कर नियमित रूपमा तिर्दै आएका फर्महरू यस योजनाका लागि योग्य हुनेछन्।
कम्पनीहरू कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने र सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, साइबर सुरक्षा, फिनटेक, एआई तथा मेसिन लर्निङ जस्ता क्षेत्रमा सक्रिय हुनुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकले यस योजनामार्फत डिजिटल उद्यमशीलता प्रवर्द्धन गर्दै नेपालको सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया