काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा आफ्नै स्रोतबाट २९ अर्ब ३० करोड अमेरिकी डलर बराबरको वित्तीय प्रतिबद्धता गरेको छ। बैंकले यो रकम अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी भएको जनाएको छ।
एडीबीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सरकार तथा निजी क्षेत्रलाई दिइएको ऋण, अनुदान, इक्विटी लगानी, ग्यारेन्टी र प्राविधिक सहयोगमार्फत उक्त प्रतिबद्धता गरिएको हो। यससँगै साझेदार संस्थाबाट थप १४ अर्ब ७० करोड डलर समेत परिचालन गरिएको छ।
एडीबीका अनुसार सन् २०२५ मा गरिएको लगानीबाट करिब ३३ लाख रोजगारी सिर्जना हुने र १८ करोडभन्दा बढी जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ।
बैंकले निजी क्षेत्र विकासलाई प्राथमिकतामा राख्दै ५ अर्ब ५० करोड डलर बराबरको लगानी गरेको जनाएको छ। सार्वजनिक क्षेत्रतर्फको लगानीमध्ये आधा हिस्सा पूर्वाधार, सुधार तथा निजी लगानी आकर्षित गर्ने क्षेत्रमा केन्द्रित गरिएको छ।
क्षेत्रगत रूपमा नेपालसहित दक्षिण एसियामा ९ अर्ब ७० करोड डलर, दक्षिणपूर्व एसियामा ९ अर्ब डलर, मध्य–पश्चिम एसियामा ८ अर्ब ३० करोड डलर, पूर्वी एसियामा १ अर्ब ४० करोड डलर र प्रशान्त क्षेत्रमा ६८ करोड डलर लगानी गरिएको छ।
एडीबीले सन् २०२५ मा ऊर्जा नीति अद्यावधिक, खरिद प्रक्रिया सरलीकरण तथा हरित ऊर्जा र डिजिटल प्रविधिसम्बन्धी आपूर्ति शृंखला विकासजस्ता संस्थागत सुधारहरू पनि अघि बढाएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया