काठमाडौं। वल्डलिंक कम्युनिकेशन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ को अवसरमा कीर्तिपुर–६ स्थित ऐतिहासिक मञ्जुश्री पार्कमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा पार्क तथा सामुदायिक वन क्षेत्रको फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन कुहिने र नकुहिने फोहोरका लागि डस्टबिनहरू उपलब्ध गराइएको हो।
डस्टबिन हस्तान्तरण वल्डलिंककी सीएसआर निर्देशक तथा प्रमोटर सेयर होल्डर अनुपा भण्डारी जालान र कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले संयुक्त रूपमा गरेकी हुन्।
कार्यक्रमका अवसरमा पार्क र सामुदायिक वन क्षेत्रमा सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो। सहभागीहरूले प्लास्टिकमुक्त क्षेत्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगन्तुकहरूको सुविधा र डिजिटल पहुँचलाई ध्यानमा राख्दै पार्क क्षेत्रमा निःशुल्क वाइफाइ सेवा समेत विस्तार गरिएको जानकारी दिइएको छ। यसले पर्यटकीय अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै अनुपा भण्डारी जालानले “हाम्रो शक्ति, हाम्रो पृथ्वी” भन्ने नाराले पृथ्वी संरक्षणमा सामूहिक प्रयासको आवश्यकता झल्काउने बताइन्। उनले वातावरण संरक्षण कुनै एक पक्षको मात्र नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन्।
उपमेयर शाक्यले वल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गतको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरिन्।
प्रगतिशील युवा समूहका अध्यक्ष सुजन मर्हजनले सन् २०५० देखि समूहले मञ्जुश्री पार्क र सामुदायिक वनको संरक्षण तथा विकासमा निरन्तर काम गर्दै आएको जानकारी दिए। उनले स्थानीय समुदायको सक्रियताले पार्कलाई पर्यटकीय तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण बनाउन सहयोग पुगेको बताए।
कार्यक्रममा कीर्तिपुर–६ का वडा अध्यक्ष, जलविनायक सामुदायिक वन उपभोक्ता समूह, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वल्डलिंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर विद्यालयमा शैक्षिक सामग्री वितरण, वृक्षारोपण, सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा सहयोग, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान तथा डिजिटल साक्षरता र सुरक्षित इन्टरनेटसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

आर्थिकन्यूज
प्रतिक्रिया