काठमाडौं । डिजिटल मोबिलिटी सेवा दिनका लागि चालक तथा राइडरले सवारी चालक अनुमति पत्र लिएको एक वर्ष पुरा भएको हुनुपर्ने प्रस्ताव गरिएको छ । सरकारले निर्माण गरेको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२ को मस्यौदामा यस्तो उल्लेख गरिएको छ । यसका साथै १८ वर्ष उमेर पुगेको व्यक्ति मात्रै चालक वा राइडर बन्न पाउने व्यवस्था गरिएको छ ।
उक्त मापदण्ड अनुसार राइडर र चालकले अफलाइन मार्फत यात्रुलाई ओसार पोसार गर्न पाइने छैन । एम मार्फत राइड एसेप्ट गरेर मात्रै यात्रुलाई ओसार पोसार गर्नु पर्नेछ । यात्रुले यात्रा वापतको भाडा अनलाईनबाट नै भुक्तानी गर्नु पर्ने छ । तर, विशेष अवस्थामा भने नगद भुक्तानी गर्न पनि सकिने छ ।
एप मार्फत राइड एसेप्ट गरेर अधिकतम ३० किलोमिटरको दुरीसम्म मात्र यात्रुलाई ओसार पोसार गर्न सकिने छ । ३० किलोमिटर भन्दा बढी दुरीमा यात्रु बोक्न पाइने छैन । तर, चारपांग्रेले सवारीले भने आफूले बाटो ईजाजत पाएको नेपालभरीको बाटोमा यात्रु बोक्न पाउँने छन् ।
यस्तै, एकजना चालकले दिनमा १२ घन्टा मात्र सेवा दिन पाउने छन् । एप लगईन गरेको १२ घन्टामा स्वत लगआउट हुने छ । तर, यात्रा कै क्रममा १२ घन्टा पुगेमा त्यो राईड सकिए पनि स्वत लगआउट हुनेछ ।
चालकले रातिको समयमा अनिवार्यरुपमा रेट्रोरिफ्लेक्टिभ ज्याकेट लगाउनु पर्ने छ ।
चालक परिचय तथा पोशाक
सेवा प्रदायकले आफ्ना प्रत्येक सवारी चालकको लागि सेवा प्रदायकको नाम तथा ठेगाना, चालकको नाम थर र सम्पर्क फोन नम्बर, नागरिकता प्रमाणपत्र नम्बर तथा जारी भएको जिल्ला, रक्त समूह र परिचयपत्र बहाल रहने अवधि उल्लेख गरिएको फोटोसहितको परिचयपत्रको व्यवस्था गर्नु पर्नेछ।
सवारी चालकले यात्री बोकेको समय (ड्युटी) मा रहँदा प्रष्ट रुपमा देखिने गरी उक्त परिचयपत्र लगाउनु पर्नेछ।
सेवा प्रदायकले आफूसँग आवद्ध चालकको लागि पोशाक उपलब्ध गराउनु पर्नेछ । चालकको लागि उपलब्ध गराउने पोशाकमा रात्रीको समयमा समेत टल्किने (रेट्रोरिफ्लेक्टिभ) गरी सेवा प्रदायकको नाम र लोगो उल्लेख हुनुपर्नेछ। चालकले यात्री वोकेको समय (ड्युटी) मा रहँदा सो पोशाक अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
के हो राईड हिलिंग र शेयरिङ ?
उक्त मापदण्डमा राईड हिलिंग र शेयरिङ दुवै सेवा दिन सक्ने परिकल्पना गरिएको छ । हिलिंग भनेको चालक वा ड्राइभर सहितको सेवा हो । जहाँ चालक वा ड्राइभरले यात्रुका लागि सवारी चलाउने गर्दछन् ।
तर, शेयरिङमा भने चालक पनि यात्रुको रुपमा रहन्छ । कुनै एक जना व्यक्ति कोटेस्वरबाट आफ्नै सवारीमा कोटेश्वर जान लागेको छ । उसले कोटेश्वर जाने एउटै रुटमा अन्य कुनै यात्रुलाई पनि लिएर जान्छ भने त्यो राइड शेयरिङ भयो ।
नेपालमा हाल डिजिटल मोबिलिटीबाट भइरहेको सेवा भने राइड हिलिंग हो । जहाँ राईडर र ड्राइभरले यात्रुका लागि राईड र ड्राईभ गरिरहेका छन् ।
राइड हिलिंगको माध्यमबाट यात्रु ओसार पोसारका लागि प्रयोग गरिने सवारीको प्रदेश कानून वमोजिम कार्यालयबाट प्रयोजन खुलाई सञ्चालन अनुमति लिनुपर्नेछ । तर, उक्त व्यवस्था राइड शेयारिंगको लागि अनिवार्य मानिने छैन ।
कार्यालयले डिजिटल मोविलिटी सेवामा प्रयोग हुने सवारीसाधनको सवारी दर्ता कितावमा प्रयोजन खुलाउँदा डिजिटल मोबिलिटी सेवा प्रयोजन भनी खुलाउनु पर्नेछ । डिजिटल मोविलिटी सेवामा प्रयोग हुने सवारीसाधनले सार्वजनिक सवारी सरह मान्यता हुने छ ।
सेवा प्रदायकले आफ्नो डिजिटल मोविलिटी सेवामा प्रयोग हुने सवारीसाधनको प्रत्येक वर्ष एकमुष्ट रुपमा कार्यालयबाट नवीकरण गर्नुपर्नेछ ।
चालकले आंशिक समय अर्थात् दिनमा अधिकतम ४ पटक पटक डिजिटल मोविलिटी सेवामा आवद्ध हुन सक्नेछ । आंशिक समयमात्र डिजिटल मोविलिटी सेवामा आवद्ध हुने सवारीले प्रयोजन खुलाउन पर्ने छैन । तर, सवारीको छुट्टै पहिचान खुल्ने क्यूआर कोड सहितको स्टिकर टाँस्नु पर्ने छ ।
सवारीको छुटै पहिचान
डिजिटल मोबिलिटी सेवामा प्रयोग हुने सवारीको छुट्टै पहिचानको लागि विभागले निर्धारण गरे बमोजिमको डिजाईन, ड्रईङ र विशेषता भएको क्यूआर सहितको स्टीकर टाँस्नु पर्नेछ । स्टिकर तयार गरी वितरण गर्ने जिम्मा सेवा प्रदायकको हुनेछ । तर क्यूआर कोडको मोडल र सुरक्षा विशेषता यातायात व्यवस्था विभागले तोके अनुसारको हुनेछ ।
सेवा प्रदायकले डिजिटल मोविलिटी सेवामा प्रयोग हुने सवारीमा टाँस गरिने क्यूआर कोढ सहितको स्टीकर सेवा प्रयोग गर्ने यात्री, ट्राफिक प्रहरी र यातायात नियमनमा खटिने आधिकारिक व्यक्तिले मात्र जाँच गर्न सक्ने गरी व्यवस्था मिलाउनु पर्नेछ । क्यूआर भित्र सेवा प्रदायकको नाम, सञ्चालन अनुमतिपत्र नम्बर, सवारीको दर्ता नम्बर र मिति, ईन्जिन वा मोटर नम्बर, च्यासिस नम्बर, चालकको नाम, फोटो र लाईसेन्स नम्बर, लाईसेन्सको जारी मिति र वहाल अवधि लगायतको विवरण हुनु पर्नेछ।
एक पटक जारी गरिएको उक्त स्टीकर एक वर्षको लागि मान्य हुनेछ ।
आंशिक रुपमा अर्थात् दिनमा ४ पटकसम्म डिजिटल मोविलिटी सेवामा प्रयोग हुने सवारीले प्रत्येक वर्ष संघीय सञ्चित कोषमा जम्मा हुने गरी दुई पाङग्रे सवारीको हकमा एक हजार रुपैयाँ र चारपाङग्रे सवारीको हकमा पाँच हजार रुपैयाँ सेवा आवद्धता शुल्क तिर्नुपर्नेछ । तर, राइड शेयरिङको हकमा उक्त शुल्क लाग्ने छैन ।
सवारीको गुणस्तर
राइड हिलिंग्को मध्यमबाट डिजिटल मोविलिटी सेवामा प्रयोग हुने दुई पाङग्रे सवारीको गुणस्तर निम्न अनुसार हुनुपर्नेछः
सवारीको उत्पादन मितिले १५ वर्ष नपुगेको, आन्तरिक दहन ईन्जिनयुक्त सवारीको हकमा नेपाल सरकारले सार्वजनिक सवारीको लागि तोकेको प्रदूषण मापदण्ड भित्र रहेको । विद्युतीय सवारीको हकमा मोटरको पिक पावर न्यूनतम १।५ किलोवाट र अधिकतम् गति ४० किमी/घण्टा भन्दा बढी भएको ।
राइड हिलिंगकाे मध्यमबाट डिजिटल मोबिलिटी सेवामा प्रयोग हुने चार पाङग्रे गुणस्तर निम्नानुसार हुनुपर्नेछः
उत्पादन मितिले १५ वर्ष नपुगेको । आन्तरिक दहन ईन्जिनयुक्त सवारीको हकमा नेपाल सरकारले सार्वजनिक सवारीको लागि तोकेको प्रदूषण मापदण्ड भित्र रहेको । विद्युतीय सवारीको हकमा मोटरको पिक पावर ४० किलोवाट वा सो भन्दा बढी रहेको । समान कक्ष कम्तीमा २०० लिटर भएको ।
आर्थिकन्यूज
प्रतिक्रिया