काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको ‘स्प्रिङ मिटिङ २०२६’ मा सहभागिता जनाउँदै नेपालको आर्थिक अवस्था, चुनौती र सम्भावनाबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुति दिएका छन्।
अमेरिकाको वासिङ्टन डीसीमा आयोजित उक्त बैठकमा विश्वभरका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर तथा वित्तीय क्षेत्रका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। सो क्रममा गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्दै नेपालको समसामयिक आर्थिक तथा वित्तीय अवस्थाबारे छलफल गरेका थिए।
भेटका क्रममा नेपालमा मूल्य स्थिरता, विदेशी विनिमय सञ्चिति र समग्र वित्तीय सूचकहरू सन्तोषजनक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिले नेपाल राष्ट्र बैंकको नीतिगत प्रयासको प्रशंसा गरेका थिए। साथै, कोषको विस्तारित ऋण सुविधा अन्तर्गतका कार्यक्रमको प्रगति र आगामी योजना बारे पनि विस्तृत समीक्षा गरिएको थियो।
गभर्नर पौडेलले कोषसँगको सहकार्यका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा प्राविधिक सहयोग थप सुदृढ बनाउन आग्रह गरेका थिए। यसैबीच, उनले एशिया तथा प्रशान्त विभाग (APD) र मौद्रिक तथा पूँजी बजार विभाग (MCM) का पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरी वित्तीय क्षेत्र सुदृढीकरणका विषयमा विचार आदानप्रदान गरेका थिए।
दक्षिणपूर्व एशिया भोटिङ समूह (SEAVG) का प्रतिनिधिसँगको भेटमा नेपालको वित्तीय प्रणाली सुदृढीकरण तथा कृत्रिम बौद्धिकता (AI) को प्रयोगबारे छलफल भएको थियो। यस्तै, एशिया/प्रशान्त समूह अन मनी लाउन्डरिङ (APG) सँगको संवादमा नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने प्रयासबारे चर्चा गरिएको थियो।
मलेसियाको केन्द्रीय बैंकसँगको भेटमा डिजिटल प्रविधि, बिग डाटा र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो। नेपाल राष्ट्र बैंकले डेटा व्यवस्थापनलाई आधुनिक बनाउने पहल गरिरहेको जानकारी दिँदै यस क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव लिन चासो व्यक्त गरिएको थियो।
बैठकका क्रममा गभर्नर पौडेलले अन्तर्राष्ट्रिय लगानीकर्ता तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्दै नेपालमा लगानीको सम्भावना र आर्थिक सुधारका एजेन्डा प्रस्तुत गरेका थिए।
यसैबीच, उनले अमेरिकी शहरहरूमा आयोजित विभिन्न कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै नेपालको आर्थिक अवस्था, लगानीका अवसर र नवप्रवर्तन प्रवर्द्धनबारे धारणा राखेका थिए।
विश्व बैंक समूहद्वारा आयोजित ‘एक्जिक्युटिभ फोरम’ मा समेत सहभागिता जनाएका पौडेलले अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान आदानप्रदानमार्फत नेपालको आर्थिक सुधारलाई गति दिनुपर्नेमा जोड दिएका थिए।
हाल विश्व बैंक समूहमा १८९ र अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९१ सदस्य राष्ट्र आबद्ध छन्। यस्तो वैश्विक मञ्चमा नेपालको सक्रिय सहभागिताले आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया