शीर्षकहरू

राष्ट्र बैंकको वित्तीय आकार ३४ खर्ब ७२ अर्ब नाघ्यो, विदेशी सम्पत्ति र जगेडामा उछाल

राष्ट्र बैंकको वित्तीय आकार ३४ खर्ब ७२ अर्ब नाघ्यो, विदेशी सम्पत्ति र जगेडामा उछाल

काठमाडौँ। नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्वमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको कुल सम्पत्ति ३४ खर्ब ७२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । जुन गत असार मसान्तको २६ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

राष्ट्र बैंकको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म विदेशी मुद्रा सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । बैंकका अनुसार चैत मसान्तसम्म कुल विदेशी मुद्रा सम्पत्ति ३३ खर्ब ६७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको २५ खर्ब ६७ अर्ब ३२ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

विदेशी मुद्रा सम्पत्तिमा विदेशी बैंकहरूसँगको निक्षेप, विदेशी प्रतिभूतिमा लगानी, सुन तथा अन्य रिजर्भ सम्पत्तिहरू समावेश छन्। जसअन्तर्गत विदेशी बैंकहरूसँग रहेको नगद तथा मौज्दात २१ खर्ब ६८ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने विदेशी बैंकमा गरिएको म्यादे निक्षेप ६ खर्ब रुपैयाँ नाघेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय मुद्राकोषसँग सम्बन्धित डेरिभेटिभ सम्पत्ति २१ अर्ब २ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

विदेशी प्रतिभूतिमा गरिएको लगानी सबैभन्दा ठूलो हिस्सा ओगट्दै २२ खर्ब ७६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको १६ खर्ब ६८ अर्ब २७ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। यसैगरी, सुन प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ  । 

समग्रमा विदेशी मुद्रा सम्पत्तिमा आएको यो विस्तारले देशको बाह्य क्षेत्र सुदृढ हुँदै गएको संकेत गरेको विश्लेषण गरिएको छ।

स्थानीय मुद्रा सम्पत्तिमा सामान्य वृद्धि, सुन मौज्दात स्थिर

नेपाल राष्ट्र बैंकको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार स्थानीय मुद्रा सम्पत्तिमा सामान्य वृद्धि देखिएको छ । चैत मसान्तसम्म कुल स्थानीय मुद्रा सम्पत्ति १ खर्ब ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।  जुन असार मसान्तको १ खर्ब ३ अर्ब ९१ करोड रुपैयाँको तुलनामा थोरै वृद्धि हो।

स्थानीय मुद्रा सम्पत्तिअन्तर्गत बैंकहरूसँगको मौज्दात, सरकारी कर्जा तथा लगानी प्रमुख रहेका छन्। स्थानीय मुद्रामा रहेका सम्पत्तितर्फ बैंक तथा वित्तीय संस्थासँगको मौज्दात, सरकारी प्रतिभूतिमा लगानी, सरकारलाई दिइएको अग्रिम तथा कर्जा र अन्य लगानी उल्लेख्य छन्।

सरकारी प्रतिभूतिमा गरिएको लगानी १४ अर्ब २८ करोड रुपैयाँ आसपास रहेको छ। बन्ड तथा म्यादे निक्षेपमा पनि केही लगानी कायम रहेको छ। अन्य कर्जा तथा अग्रिम १२ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थालाई दिइएको कर्जा भने तुलनात्मक रूपमा न्यून रहेको छ । करिब १२ करोड रुपैयाँको हाराहारीमा सीमित देखिएको छ।

यसैगरी, सुन तथा चाँदी सम्पत्ति स्थिर रहँदै ५५ अर्ब ४१ करोड रुपैयाँ बराबर कायम रहेको छ। भौतिक सम्पत्तितर्फ करिब ६ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने अन्य सम्पत्तिहरू, इनभेन्ट्री र अमूर्त सम्पत्तिमा सामान्य उतारचढाव देखिएको छ।

समग्रमा स्थानीय मुद्रा सम्पत्तिमा ठूलो परिवर्तन नभए पनि संरचनागत रूपमा स्थिरता देखिएको राष्ट्र बैंकको विवरणले संकेत गरेको छ।

दायित्वतर्फ बैंक तथा वित्तीय संस्थाको निक्षेप, सरकारी निक्षेप र चलनचल्तीमा रहेको मुद्रा मुख्य रहेका छन्। सरकारी निक्षेप करिब ३ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि ठूलो परिमाणमा रहेको छ।

चलनचल्तीमा ७ खर्ब ६९ अर्ब २० करोड रुपैयाँ

चलनचल्तीमा रहेको मुद्रा असार मसान्तमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ रहेको यस्तो रकम चैत मसान्तसम्म ७ खर्ब ६९ अर्ब २० करोड रुपैयाँ पुगेको छ। विदेशी मुद्रासम्बन्धी दायित्व ५४ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेको छ, जुन अघिल्लो अवधिको तुलनामा केही वृद्धि भएको हो।

बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको निक्षेप भने केही घटेको छ। असार मसान्तमा ३ खर्ब ८८ अर्ब ६३ करोड रुपैयाँ रहेको यस्तो निक्षेप चैत मसान्तमा ३ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ।

राष्ट्र बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम रहेको छ भने रिजर्भ ९ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। गत असारसम्म यो ६ खर्ब ७१ अर्ब रुपैयाँ आसपास थियो। राष्ट्र बैंकको जगेडा कोषमा उल्लेखनीय वृद्धि देखिएको छ। असारमा ६ खर्ब ७१ अर्ब २ करोड रुपैयाँ रहेको जगेडा कोष चैत मसान्तसम्म बढेर ९ खर्ब ६८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

केन्द्रीय बैंकको वित्तीय आकारमा आएको विस्तारले विदेशी मुद्रा सञ्चिति सुदृढ हुँदै गएको संकेत गर्छ। तर, सरकारी निक्षेपको उच्च हिस्सा, तरलता व्यवस्थापन र वित्तीय प्रणालीमा सन्तुलन कायम राख्ने चुनौती अझै कायम रहेको देखिन्छ ।विशेषगरी विदेशी सम्पत्तिमा उच्च निर्भरता र आन्तरिक लगानी संरचनाबीच सन्तुलन कायम गर्नु आगामी दिनमा मौद्रिक नीतिको प्रमुख चुनौती हुने देखिएको छ। 

null

प्रतिक्रिया