काठमाडौं। राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।
प्रतियोगिता मे १ देखि ३ सम्म काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा १२ वटा कर्पोरेट टोलीको सहभागिता रहनेछ।
प्रतिस्पर्धामा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रमेश कर्प, हिमालयन एभरेस्ट इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक तथा गत संस्करणका विजेता क्लाउडफ्याक्ट्री सहभागी हुनेछन्।
आयोजक राउन्ड टेबल नेपालले प्रतियोगिताको उद्देश्य कर्पोरेट क्षेत्रभित्र सहकार्य, आपसी सम्बन्ध विस्तार तथा खेलकुदमार्फत कार्य–जीवन सन्तुलनलाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ।
संस्थाले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई साझा उद्देश्यका लागि मानिसहरूलाई एकत्रित गर्ने माध्यम पनि हो।
आयोजकले प्रतियोगिताको मुख्य प्रायोजनका लागि सन नेपाल लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले प्रतिस्पर्धा, सहकार्य र सामाजिक उत्तरदायित्वबीच सकारात्मक समन्वय प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया