शीर्षकहरू

दुई बन्दमुखी म्युचुअल फण्डमा लगानीको अवसर, बैशाख अन्त्यसम्म आवेदन खुला

दुई बन्दमुखी म्युचुअल फण्डमा लगानीको अवसर, बैशाख अन्त्यसम्म आवेदन खुला

काठमाडौँ । लगानीकर्ताका लागि दुई बन्दमुखी म्युचुअल फण्डमा एकैसाथ लगानीको अवसर खुलेको छ। सानिमा क्यापिटल लिमिटेड र रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडले आ-आफ्ना म्युचुअल फण्ड योजनाको इकाई निष्काशन अघि बढाएका हुन्।

सानिमा क्यापिटलले ‘सानिमा इक्विटी फण्ड २’ बैशाख २४ गतेदेखि निष्काशन गर्दैछ । १० वर्षे बन्दमुखी प्रकृतिको यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा राखिएको छ।

कुल इकाईमध्ये १३ प्रतिशत सानिमा बैंक लिमिटेड लाई कोष प्रवर्द्धकका रूपमा सुरक्षित गरिएको छ भने २ प्रतिशत योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।

यस योजनामा बैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ७ गतेसम्म म्याद थपिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ।

यस्तै, रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेड ले ‘रिलायबल समृद्धि योजना २’ बैशाख २९ गतेदेखि निष्काशन गर्ने भएको छ। यो पनि १० वर्षे बन्दमुखी योजना हो, जसअन्तर्गत १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याइनेछ।

कुल इकाईमध्ये १५ प्रतिशत सुरक्षित गरिएको छ, जसमा १४ प्रतिशत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लाई कोष प्रवर्द्धकका रूपमा र १ प्रतिशत योजना व्यवस्थापकलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ।

यस योजनामा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ, आवश्यक परे जेठ १२ गतेसम्म अवधि थपिनेछ। दुवै फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाइनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै मेरो सेयर मार्फत पनि अनलाइन आवेदन दिन मिल्नेछ।

क्रेडिट रेटिङतर्फ दुवै योजनाका प्रवर्द्धकलाई केयर रेटिङ्स नेपाल लिमिटेडले ‘सिंगल ए माइनस’ रेटिङ दिएको छ भने सानिमा क्यापिटललाई इक्रा नेपाल लिमिटेड ले ‘एएमसी क्वालिटी ३ प्लस’ र रिलायबल क्यापिटललाई ‘एएमसी क्वालिटी ४ प्लस’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया