शीर्षकहरू

संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय महालक्ष्मी विकास बैंक, विभिन्न कार्यक्रम सम्पन्न

संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय महालक्ष्मी विकास बैंक, विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न क्षेत्रमा लक्षित कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन तथा दिगो विकासका क्षेत्रमा कार्यक्रमहरू अघि बढाएको हो।

यसअन्तर्गत बैंकले ‘दश लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग सहकार्य गरी पृथ्वी दिवसको अवसरमा खप्तड क्षेत्रअन्तर्गत वडा नं. १, काडाँमा २ हजार कागतीका बिरुवा रोपणका लागि आर्थिक सहयोग गरेको छ। स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, रोजगारी सिर्जना र दिगो स्रोत उपयोग प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

त्यस्तै, क्यान्सर रोगबारे प्रारम्भिक पहिचान, रोकथाम र उपचारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न आयोजित कार्यक्रममा पनि बैंकले सहयोग गरेको छ। सो कार्यक्रमबाट संकलित रकम काठमाडौँस्थित कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा हस्तान्तरण गरिएको छ।

शिक्षा क्षेत्रमा पनि बैंक सक्रिय देखिएको छ। ग्लोबल मनी विक २०२६ को अवसरमा नेपालगञ्जस्थित श्री युक्त संस्कृति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ। साथै, युवामा वित्तीय चेतना अभिवृद्धि गर्न सातौँ नेपाल इकोनोमिक ओलम्पियाडलाई समेत बैंकले आर्थिक सहयोग गरेको छ।

बैंकले देशभरका आफ्ना शाखा र प्रादेशिक कार्यालयमार्फत वित्तीय पहुँचबाहिर रहेका समुदायलाई लक्षित गरी वित्तीय साक्षरता र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

हाल देशभर १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकका करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्। बैंकले यस्ता सामाजिक कार्यक्रममार्फत आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया