काठमाडौँ — युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउन अघि सारेको ‘मेड इन युरोप’ योजनाप्रति चीनले कडा आपत्ति जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ। बेइजिङले उक्त योजनालाई “प्रणालीगत भेदभाव” को संज्ञा दिँदै युरोपेली कम्पनी–केन्द्रित नीति आफ्नो व्यवसायिक हितविपरीत रहेको दाबी गरेको छ।
इयुले गत मार्चमा सार्वजनिक कोषमा पहुँच चाहने कम्पनीहरूका लागि नयाँ नियम प्रस्ताव गरेको थियो। प्रस्तावअनुसार कार, हरित प्रविधि र इस्पातजस्ता रणनीतिक क्षेत्रमा काम गर्ने कम्पनीहरूले निश्चित मात्रामा युरोपेली उत्पादन सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था रहनेछ। यस योजनाको उद्देश्य युरोपेली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने, औद्योगिक गिरावट रोक्ने र रोजगारी संरक्षण गर्ने बताइएको छ।
चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा इयुको प्रस्तावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युरोपेली कमिसनसमक्ष औपचारिक टिप्पणी बुझाइसकेको जनाएको छ। इयुले योजना कार्यान्वयन गरेमा चिनियाँ उद्यमहरूको वैध अधिकार र हितमा क्षति पुग्ने भन्दै चीनले आवश्यक परे प्रतिकारात्मक कदम चाल्न सक्ने संकेत दिएको छ।
युरोपेली कम्पनीहरूले भने लामो समयदेखि सरकारी अनुदान पाएका चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न कठिन भएको गुनासो गर्दै आएका छन्। यसै सन्दर्भमा तयार गरिएको ‘इन्डस्ट्रियल एक्सेलेरेटर एक्ट’ नामक प्रस्तावले विदेशी कम्पनीहरूलाई युरोपेली साझेदारसँग सहकार्य गर्न तथा प्रविधि हस्तान्तरण गर्न प्रोत्साहन वा बाध्य गर्ने व्यवस्था समेटेको छ। यसले विशेषगरी चिनियाँ ब्याट्री तथा विद्युतीय सवारी उत्पादकलाई असर पार्ने अनुमान गरिएको छ।
यसैबीच, युरोपेली सङ्घका लागि चिनियाँ चेम्बर अफ कमर्सले पनि उक्त योजना संरक्षणवादी नीतितर्फको संकेत भएको भन्दै दुई पक्षबीचको व्यापारिक सहकार्यमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया