शीर्षकहरू

सशस्त्र प्रहरीको १३औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको १३औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा एआईजी नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल प्रशासन तथा मानव स्रोत विभाग प्रमुख रहेका पौडेललाई सशस्त्र प्रहरीको नयाँ नेतृत्वमा बढुवा गर्ने निर्णय गरेको हो।

वर्तमान आईजीपी राजु अर्याल ४ वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त हुने नेतृत्व सम्हाल्ने गरी पौडेललाई नियुक्त गरिएको हो। उनले वैशाख १८ पछि औपचारिक रूपमा कमाण्ड सम्हाल्नेछन्।

पौडेल हालका आईजीपी अर्यालकै ब्याची हुन्। चैत २०५४ मा नेपाल प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरी बल गठनसँगै २०५७ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए। यससँगै उनी सशस्त्र प्रहरीको १३औँ प्रमुखका रूपमा नेतृत्वमा पुगेका हुन्।

आईजीपी पदका लागि अर्का एआईजी वंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए। तर, पौडेल दाहालभन्दा करिब पाँच महिना अघि एआईजीमा बढुवा भएका कारण सिनियरिटीका आधारमा उनलाई नेतृत्व दिइएको हो।

पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए। प्रचलित सेवा अवधि कायम रहे उनी १८ चैत २०८४ सम्म संगठनको नेतृत्वमा रहनेछन्।

यसअघि २३ र २४ भदौको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा उनीमाथि विभागीय कारबाही सिफारिस भएको विषय समेत चर्चामा रहेको थियो। तर, सरकारले संगठनभित्रको वरिष्ठता र संस्थागत निरन्तरतालाई प्राथमिकता दिँदै उनलाई आईजीपीमा नियुक्त गरेको हो।

प्रतिक्रिया