काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक डा. नवराज अधिकारी ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश भएका छन्। झण्डै २७ वर्षसम्म सेबोनमा नियमन, नीति निर्माण, बजार सुपरीवेक्षण र संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गरेका अधिकारी गत विहीबारदेखि औपचारिक रूपमा सेवा निवृत्त भएका हुन्।
उनले वि.सं. २०५६ सालमा सेबोनमा प्रवेश गरेका थिए। धितोपत्र बोर्डमा २६ वर्षभन्दा बढी समयदेखि नियामक, नीति निर्माण, अनुसन्धान र बजार सुधारका विविध भूमिकामा सक्रिय डा. नवराज अधिकारी नेपालको पुँजी बजार क्षेत्रका एक अनुभवी नियामक तथा विज्ञका रूपमा परिचित छन्।
२०२२ जुनदेखि २०२६ अप्रिलसम्म सेबोनको कार्यकारी निर्देशक (विशेष श्रेणी) का रूपमा नीति, अनुसन्धान तथा तालिम विभाग र सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हालेका अधिकारीले यसअघि बोर्ड सचिव, सुपरिवेक्षण विभाग प्रमुख र प्रवक्ता जस्ता महत्वपूर्ण पदहरूमा समेत कार्य गरेका थिए। २०२४ जनवरीदेखि अप्रिलसम्म उनले सेबोनको कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए।
अधिकारीसँग धितोपत्र नियमन, बजार सुधार तथा संस्थागत विकासमा दीर्घ अनुभव छ। उनी ‘इन्भेष्टर प्रोटेक्सन फण्ड’ तथा विभिन्न नीतिगत सुधार, अध्ययन र अनुसन्धान समितिहरूको संयोजक तथा सदस्यका रूपमा पनि सक्रिय रहे। सेबोनमा कार्यकारी निर्देशकदेखि कार्यवाहक प्रमुखसम्म विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका उनी नेपालको पुँजी बजारको संरचनागत सुधारमा अग्रणी नियामक व्यक्तित्वका रूपमा परिचित छन्।
सेबोनमा कार्यरत रहँदा उनले प्रादेशिक कार्यालय स्थापना सम्भाव्यता अध्ययन, लगानीकर्ता शिक्षा कार्यक्रम विस्तार, सेयर बजार सुधारसम्बन्धी अध्ययन तथा नीतिगत प्रतिवेदन तयार गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेलेका छन्। विश्व बैंक तथा अर्थ मन्त्रालयसँग सम्बन्धित परियोजना तथा आर्थिक सुधार कार्यक्रमअन्तर्गतका समितिहरूमा समेत उनले संयोजकको भूमिका निर्वाह गरेका थिए।
नेपालको पुँजी बजारमा ‘इन्साइडर ट्रेडिङ’ सम्बन्धी पहिलो अनुसन्धान अधिकृतका रूपमा उनको भूमिका विशेष चर्चित छ। रिडी हाइड्रोपावर कम्पनीसँग सम्बन्धित मुद्दामा गरिएको अनुसन्धानका आधारमा अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाएको घटनाले बजारमा सुशासन र पारदर्शिताको सन्देश दिएको मानिन्छ।
उनले एसडिएमएस (Securities Data Management System) परियोजना व्यवस्थापन गरेका थिए, जसलाई सरकारी आर्थिक सुधार कार्यक्रमअन्तर्गत उत्कृष्ट परियोजनाका रूपमा समेत सम्मानित गरिएको थियो। २०७२ सालको भूकम्पपछि सेयर बजार स्थायित्वका लागि गठित अध्ययन समितिको संयोजकका रूपमा उनले तीन दिनमै प्रतिवेदन तयार गरी बजार पुनः सञ्चालनमा महत्वपूर्ण योगदान दिएका थिए।
शिक्षण क्षेत्रमा समेत सक्रिय अधिकारी त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा वित्तीय प्रणाली, कर्पोरेट फाइनान्स र पुँजी बजार विषय अध्यापन गर्दै आएका छन्। उनले ११० भन्दा बढी कलेज तथा विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा समेत योगदान दिएका छन्।
अन्तर्राष्ट्रिय स्तरमा उनले टोरोन्टो सेन्टर (क्यानडा) सँगको सहकार्य, विश्वव्यापी वित्तीय सुपरिवेक्षण तथा लगानीकर्ता शिक्षा सम्बन्धी कार्यक्रमहरूमा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गरेका छन्। उनी २०१६ मा सेबोनलाई आईओएससीओ (IOSCO) को एसोसिएट सदस्यता दिलाउने प्रक्रियामा समेत संलग्न थिए।
डा. अधिकारीले चार दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख तथा प्रकाशन गरेका छन्। उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलका सम्पादकीय भूमिकामा समेत सक्रिय छन्।
डा. अधिकारी ‘नेपाल विद्याभूषण (क)’, उत्कृष्ट कार्यसम्पादन पुरस्कार तथा कृष्णचन्द्र रेग्मी उत्कृष्ट शोधपत्र पुरस्कारलगायतका दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित छन्। उनी सेबोन जर्नलका प्रधान सम्पादकका रूपमा पनि कार्यरत छन् भने अन्तर्राष्ट्रिय स्तरका विभिन्न जर्नलहरूमा उनका दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन्य
सैबीच सेबोनमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइएको छ। हालै अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त पद पूर्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको हो।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्। समितिले सेबोन अध्यक्ष पदका लागि योग्य उम्मेदवार सिफारिस गर्नेछ।
सन्तोषनारायण श्रेष्ठ २०८१ मंसिर १० मा सेबोन अध्यक्ष नियुक्त भएका थिए। उनको कार्यकाल २०८५ मंसिर ९ सम्म रहने तय भए पनि २०८३ वैशाखमै राजीनामा दिएपछि पद समयअघि नै रिक्त भएको हो। यससँगै अब नियुक्त हुने नयाँ अध्यक्षले बाँकी करिब साढे दुई वर्षको कार्यकाल मात्रै पूरा गर्नेछन्।
धितोपत्र सम्बन्धी ऐनको दफा १४ अनुसार कार्यकाल पूरा नहुँदै अध्यक्ष वा सदस्य पद रिक्त भएमा सरकारले सोही प्रक्रिया पूरा गरी बाँकी अवधिका लागि नियुक्ति गर्नुपर्ने व्यवस्था छ।
पछिल्ला वर्षहरूमा सेबोन नेतृत्वमा निरन्तर विवाद र आरोपहरू दोहोरिँदै आएका बेला अहिलेको सन्दर्भमा अनुभवी र संस्थागत रूपमा परिपक्व नेतृत्व आवश्यक रहेको धारणा बलियो बन्दै गएको छ। यही पृष्ठभूमिमा दीर्घ अनुभव भएका अधिकारीलाई उपयुक्त विकल्पका रूपमा हेरिएको छ।
अध्यक्षलाई के चाहिन्छ योग्यता ?
अध्यक्षले धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य सञ्चालन गर्ने गर्छन् । अर्थान् धितोपत्र बोर्डको अध्यक्ष कार्यकारी पद हो । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको व्यक्ति बोर्डको अध्यक्षका लागि योग्य हुने धितोपत्र सम्बन्धी ऐन २०६३ मा उल्लेख छ ।
अध्यक्षको पदावधि चार वर्षको हुने र उसलाई पुनः बढीमा चार वर्षको लागि नियुक्त गर्न सकिने व्यवस्था पनि ऐनमा छ । धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्र बोर्डको सञ्चालक समिति बैठक महिनामा कम्तीमा १ पटक बस्नुपर्ने र सञ्चालक समिति बैठक अध्यक्षले बोलाउनुपर्ने व्यवस्था गरेको छ ।

आर्थिकन्यूज
प्रतिक्रिया