काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुवै प्रमुख निकाय नेतृत्वविहीन बनेसँगै सेयर बजारमा नकारात्मक दबाब देखिएको छ। मंगलबार सेयर बजार दोहोरो अंकले घट्दै बन्द भएको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २,७७०.२६ विन्दुमा कायम भएको छ।
नेप्सेका अध्यक्ष हेमन्त बस्यालले सोमबार अर्थ मन्त्रालय पुगेर पदबाट राजीनामा दिएका छन्। बस्यालले राजीनामाको कारण व्यक्तिगत र विशेष परिस्थितिसँग सम्बन्धित रहेको बताएका छन्। उनीसँगै नेप्से औपचारिक रूपमा नेतृत्वविहीन बनेको हो।
यसअघि सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पनि राजीनामा दिइसकेका छन्। उनी राजीनामा दिएसँगै सेबोन पनि प्रमुखविहीन अवस्थामा रहेको छ।
यसैबीच, सेबोन अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको छ। समितिले सूचना जारी गर्दै सात दिनभित्र बायोडाटा सहित दरखास्त पेस गर्न आग्रह गरेको हो।
सेयर बजार २६ अंकले घट्यो, कारोबार ६ अर्ब ५३ करोड नाघ्यो
मंगलबार सेयर बजार दोहोरो अंकले घट्दै बन्द भएको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २,७७०.२६ विन्दुमा कायम भएको छ।
बजार घट्दा ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ। १४ कम्पनीको मूल्य स्थिर रहेको छ। उपसमूहतर्फ १२ समूह घटेका छन् भने एक समूह मात्र बढेको छ। अन्य समूह ०.७३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सबैभन्दा बढी २.५६ प्रतिशतले घटेको छ।
दिनभर ३४९ कम्पनीका १ करोड ४० लाख १३ हजार कित्ता सेयर कारोबार हुँदा कुल ६ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज सर्वाधिक कारोबार पाल्पा सिमेन्टको भएको छ, जसको ५८ करोड ३३ लाख रुपैयाँको कारोबार भयो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स (३४ करोड ६८ लाख रुपैयाँ) र कर्पोरेट डेभलपमेन्ट बैंक (३० करोड २८ लाख रुपैयाँ) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
उच्च कारोबार भएका अन्य कम्पनीमा सोलु हाइड्रोपावर, कुमारी बैंक, नेसनल हाइड्रोपावर, होटल फरेष्ट इन, रिडी पावर, आँखुखोला जलविद्युत र शिखर पावर रहेका छन्।
आज डिबेञ्चर तथा बन्डतर्फ हिमालयन बैंक बोन्ड २०८६ का इकाईधनीले सबैभन्दा धेरै ६ प्रतिशत लाभ कमाएका छन्। शाइन रेसुङ्गा डिबेञ्चरका इकाईधनीले ३.४० प्रतिशत र सानिमा डिबेञ्चरका इकाईधनीले ३.१७ प्रतिशत लाभ आर्जन गरेका छन्।
यता कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशतले घाटा व्यहोरेका छन्।
लगातार उतारचढाव देखिएको बजारमा कारोबार रकम उच्च रहे पनि अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि बजार समग्रमा रातोमै बन्द भएको हो।
आर्थिकन्यूज
प्रतिक्रिया