काठमाडौं। अमेरिकी डलरको विनिमयदरमा भएको तीव्र वृद्धिका कारण चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको प्रतिव्यक्ति आम्दानी स्थिर रहने प्रारम्भिक अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार यस वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर रहनेछ, जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को संशोधित अनुमान बराबर हो।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४८० अमेरिकी डलर रहेको थियो। तर पछिल्ला दुई वर्षमा डलरको सटहीदर उच्च दरले बढ्दा आम्दानीको वास्तविक विस्तार हुँदाहुँदै पनि डलरमा रूपान्तरण गर्दा वृद्धि देखिन सकेको छैन।
यद्यपि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय भने बढ्दो क्रममा रहेको छ। चालु आर्थिक वर्षमा यस्तो आय २,०४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको १,९९४ डलर र त्यसअघिको १,८७७ डलरभन्दा बढी हो। यसको प्रमुख कारण वैदेशिक रोजगारीबाट आउने विप्रेषण (रेमिट्यान्स) मा भएको उच्च वृद्धि रहेको कार्यालयको विश्लेषण छ।
त्यसैगरी प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भने सामान्य रूपमा घट्ने देखिएको छ। चालु वर्षमा प्रतिव्यक्ति जीडीपी १,५१३ अमेरिकी डलर रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको १,५१६ डलरभन्दा थोरै कम हो। २०८०/८१ मा यस्तो जीडीपी १,४५६ डलर थियो।
विप्रेषण आप्रवाह भने उल्लेख्य रूपमा बढ्ने देखिएको छ। चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको ३३.०२ प्रतिशत बराबर विप्रेषण प्राप्त हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको २७.८० प्रतिशतभन्दा उल्लेख्य उच्च हो।
तथ्यांकले देखाउँछ कि वैदेशिक रोजगारीबाट आउने आयले खर्चयोग्य आय बढाइरहे पनि विनिमयदरको दबाबले प्रतिव्यक्ति आम्दानीको डलर मूल्यमा वृद्धि रोकेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया