शीर्षकहरू

ऊर्जा र वित्त क्षेत्रको तीव्र विस्तार, कृषि सुस्त : अर्थतन्त्रको संरचनामा असन्तुलन

ऊर्जा र वित्त क्षेत्रको तीव्र विस्तार, कृषि सुस्त : अर्थतन्त्रको संरचनामा असन्तुलन

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रमा क्षेत्रगत रूपमा असन्तुलित वृद्धि देखिने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ।

राष्ट्रिय लेखा तथ्यांकअनुसार केही क्षेत्रले उच्च वृद्धि हासिल गर्ने संकेत देखिए पनि कृषि र सार्वजनिक सेवाजस्ता प्रमुख क्षेत्रको सुस्तताले समग्र विस्तारलाई सीमित बनाएको छ।

औद्योगिक वर्गीकरणअनुसार कुल मूल्य अभिवृद्धिमा सबैभन्दा उच्च वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा हुने अनुमान गरिएको छ। यस क्षेत्रको वृद्धिदर २०.९३ प्रतिशत रहने प्रक्षेपण छ।

त्यसपछि वित्तीय तथा बीमा क्षेत्र ९.१६ प्रतिशत वृद्धिसहित दोस्रो स्थानमा रहने देखिएको छ। विपरीत रूपमा सार्वजनिक प्रशासन तथा रक्षा (०.२३ प्रतिशत) र शिक्षा क्षेत्र (१.५० प्रतिशत) को वृद्धि सबैभन्दा न्यून रहने अनुमान छ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदानका हिसाबले कृषि, वन तथा मत्स्य क्षेत्र २४.०३ प्रतिशतसहित सबैभन्दा ठूलो हिस्सा ओगट्नेछ भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान १४.०९ प्रतिशत रहनेछ। पानी आपूर्ति तथा फोहोर व्यवस्थापन (०.४० प्रतिशत) र खानी तथा उत्खनन (०.४३ प्रतिशत) क्षेत्रको योगदान न्यून रहने देखिएको छ।

कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित रहने अनुमान छ। धान उत्पादनमा ४.१६ प्रतिशत गिरावट आउने प्रक्षेपण गरिएको छ भने मकै, गहुँ, दलहन र औद्योगिक बालीमा सामान्य वृद्धि हुने अपेक्षा गरिएको छ। पशुजन्य उत्पादनमा समेत सीमित सुधार रहने देखिएको छ।

उद्योग क्षेत्र भने विस्तारतर्फ फर्किएको संकेत देखिएको छ। चालु वर्ष उद्योग क्षेत्रको वृद्धि २.८३ प्रतिशत रहने अनुमान छ, जुन अघिल्लो वर्षको तुलनामा सुधार हो।

सिमेन्ट, फलामे रड, वनस्पति घिउ, सुर्तीजन्य पदार्थलगायत उत्पादनमा वृद्धि तथा कच्चा पदार्थ आयात बढेकाले यस क्षेत्रमा सकारात्मक प्रभाव परेको जनाइएको छ।

विद्युत् उत्पादनमा नयाँ आयोजनाबाट क्षमता थपिनु, प्रसारण पूर्वाधार विस्तार हुनु र उपभोग बढ्नुले ऊर्जा क्षेत्रको तीव्र वृद्धि सम्भव भएको हो।

null

निर्माण क्षेत्रको वृद्धि भने अझै सुस्त छ। पूँजीगत खर्च उल्लेख्य रूपमा नबढ्दा यस क्षेत्रको वृद्धिदर २.२१ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ।

सेवा क्षेत्रअन्तर्गत व्यापार, यातायात, सूचना प्रविधि र वित्तीय सेवा क्षेत्रमा भने सन्तोषजनक वृद्धि देखिएको छ। यातायात तथा भण्डारण क्षेत्र ५.७९ प्रतिशत, सूचना तथा सञ्चार ५.५३ प्रतिशत र व्यापार क्षेत्र ४.५१ प्रतिशतले बढ्ने अनुमान छ।

पर्यटनसँग जोडिएको आवास तथा भोजन सेवा क्षेत्रमा ३.१२ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ भने वित्तीय क्षेत्रले ६.७२ प्रतिशत योगदानसहित अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिएको छ।

घरजग्गा, पेशागत सेवा, प्रशासनिक सेवा र स्वास्थ्य क्षेत्रको वृद्धि मध्यम स्तरमै रहनेछ। तर सरकारी खर्चको सीमित वृद्धिका कारण सार्वजनिक प्रशासन र शिक्षा क्षेत्रको विस्तार कमजोर देखिएको छ।

समग्रमा, सेवा र ऊर्जा क्षेत्रको बलियो प्रदर्शन भए पनि कृषि र सार्वजनिक क्षेत्रको सुस्तताले नेपालको आर्थिक संरचनामा असन्तुलन कायमै रहेको संकेत तथ्यांकले गरेको छ।

null

प्रतिक्रिया