काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार शेयर निष्काशनका लागि सम्झौता गर्ने कम्पनीको संख्या सात पुगेको छ। नेप्सेले यसअघि पाँच कम्पनी रहेको सूची अद्यावधिक गर्दै थप दुई कम्पनी समावेश गरेपछि नयाँ सूची सार्वजनिक गरेको हो।
नयाँ थपिएका कम्पनीहरूमा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन्। यसअघि सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युब आयल लिमिटेड रहेका थिए।
विवरणअनुसार यति ब्रुअरी लिमिटेडले रु. ५० चुक्ता मूल्यमा ८ लाख ६० हजार ८०० कित्ता सेयर छुट्याएको छ। त्यस्तै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले रु. १०० चुक्ता मूल्यमा ८ लाख १६ हजार ४८० कित्ता सेयर छुट्याएको छ।
जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेडले १८ लाख कित्ता, लक्ष्मी स्टील्स लिमिटेडको १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्स लिमिटेडले ४ लाख ३४ हजार ६०० कित्ता र पूर्वाञ्चल ल्युब आयल लिमिटेडले ६ लाख कित्ता सेयर बुक बिल्डिङ प्रक्रियाका लागि छुट्याएका छन्। त्यस्तै नेपाल चिया विकास निगम लिमिटेडले २ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ।
बुक बिल्डिङ प्रक्रियाअनुसार यी कम्पनीहरूले योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयर शिलबन्दी बोलपत्रमार्फत निष्काशन गर्नेछन्। यस प्रणालीमा संस्थागत लगानीकर्ताले प्रारम्भिक मूल्य प्रस्ताव गर्ने र सोही आधारमा अन्तिम मूल्य निर्धारण हुने व्यवस्था रहेको छ।
नेप्सेले यो प्रक्रिया सेयर निष्काशनलाई पारदर्शी, व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले अघि बढाइएको जनाएको छ। साथै, यसले प्राथमिक बजारमा मूल्य निर्धारण प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार विभिन्न कम्पनीका लाखौँ कित्ता शेयर संस्थागत लगानीकर्ताका लागि छुट्याइएका छन्। सम्बन्धित कम्पनीहरूले बुक बिल्डिङ प्रक्रियाले लगानीकर्ताको विश्वास बढाउने र पूँजी परिचालनमा सहजता ल्याउने अपेक्षा व्यक्त गरेका छन्।

आर्थिकन्यूज
प्रतिक्रिया