काठमाडौँ। सेयर बजारमा कृत्रिम उतारचढाव सिर्जना गरी लगानीकर्तालाई भ्रममा पार्ने ‘नेटवर्क्ड ट्रेडिङ’ को ठूलो जालो उजागर भएको छ।
नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले व्यवसायी दीपक भट्ट केन्द्रमा रहेको समूहले आपसी मिलेमतो, उधारो कारोबार र प्रविधिको दुरुपयोगमार्फत बजार चलखेल गरेको निष्कर्ष निकालेको हो।
प्रतिवेदन अनुसार भट्टसहित सम्बद्ध व्यक्तिहरूले वास्तविक नगद भुक्तानी नगरी उधारोमा सेयर खरिद–बिक्री गर्दै कृत्रिम माग सिर्जना गरेका थिए। एउटै समूहभित्रका कम्पनी र व्यक्तिबीच बारम्बार कारोबार गराएर मूल्य अस्वाभाविक रूपमा बढाउने रणनीति अपनाइएको देखिएको छ। यसले बजारको आपूर्ति–माग सन्तुलन बिगार्दै सामान्य लगानीकर्तालाई भ्रमित बनाएको बोर्डको ठहर छ।
अनुसन्धानमा ब्रोकर प्रणालीकै कमजोरी प्रयोग गरिएको पाइएको छ। ब्रोकर नम्बर ५५ अन्तर्गत सञ्चालित भृकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत अग्रिम रकम नतिरी कारोबार सीमा उपलब्ध गराइएको, राफसाफ नगरी सेयर खातामा स्थानान्तरण गरिएको तथा एउटै ‘ट्रेडिङ म्यानेजमेन्ट सिस्टम धेरै खाताबाट सञ्चालन गरिएको तथ्य खुलेको छ।
यो नेटवर्कमा सुबी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर लगायतका व्यक्तिहरूको संलग्नता देखिएको छ। उनीहरूले पनि अग्रिम भुक्तानी नगरी कारोबार सीमा प्रयोग गरेको, रकम चुक्ता नगरी सेयर खातामा लिएको र त्यसबाट मूल्यवृद्धिमा सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ।
संस्थागत स्तरमा पनि यो चलखेल फैलिएको देखिन्छ। हिमालयन रिइन्स्योरेन्स लिमिटेड, हिमालयन क्यापसर्भ लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड लगायत संस्थाको नाम पनि कारोबार संरचना सहज बनाउने पक्षका रूपमा जोडिएको छ।
विशेषगरी सूचीकृत कम्पनीहरूको सेयर मूल्य लक्षित रूपमा बढाउन ‘सर्कुलर ट्रेडिङ’ गरिएको देखिएको छ। एनएलजी इन्स्योरेन्स कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनी जस्ता कम्पनीका सेयरमा अतिरिक्त माग सिर्जना गरेर मूल्य उचाल्ने प्रयास भएको निष्कर्ष निकालिएको छ।
बोर्डको प्रतिवेदनले ठूलो परिमाणमा ‘अनसेटल्ड’ रकम पनि देखाएको छ। भृकुटी ब्रोकरमार्फत मात्रै भट्टसँग जोडिएको करिब २ अर्ब ७३ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ भने अन्य संलग्न व्यक्तिहरूबाट पनि अर्बौँ रुपैयाँ बराबरको राफसाफ हुन बाँकी देखिएको छ। उता ब्रोकर स्वयंले पनि विभिन्न संस्था र व्यवसायीलाई अर्बौँ रकम भुक्तानी गर्न बाँकी रहेको तथ्यले जोखिमको दायरा अझ फराकिलो भएको संकेत गर्छ।
कानुनी रूपमा यस्तो गतिविधि धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत ‘झूटो कारोबार’ र बजार हेरफेरको गम्भीर कसूर मानिन्छ। बोर्डले दफा ९४, ९५, ९६ र ९८ अनुसार कसूर देखिएको ठहर गर्दै थप अनुसन्धान र कारबाहीका लागि मुद्दा प्रहरीमार्फत अघि बढाउन सिफारिस गरेको छ।
प्रतिवेदनअनुसार दीपक भट्टले वास्तविक नगद लेनदेन नगरी उधारोमै सेयर किनबेच गर्दै बजारमा कृत्रिम मूल्यवृद्धि गराएको पाइएको छ। उनले आफ्नै तथा पारिवारिक स्वामित्वमा रहेका कम्पनीहरूबीच बारम्बार सेयर कारोबार गराएर अस्वाभाविक उतारचढाव सिर्जना गरेको उल्लेख छ।
यस प्रकरणमा भट्टलाई मुख्य आरोपित बनाइएको छ भने संदीप चाचान (भृकुटी स्टक ब्रोकिङ कम्पनी), सुबी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाह लगायतलाई पनि अनुसन्धान दायरामा तानिएको छ। उनीहरूले कारोबार व्यवस्थापन र मिलेमतोमा सहयोग गरेको आशंकामा अनुसन्धान भइरहेको जनाइएको छ।
त्यस्तै, केही संस्थागत पक्षहरू पनि सहयोगी भूमिकामा रहेको आशंकासहित प्रतिवेदनमा समेटिएका छन्। तीमध्ये हिमालयन रिइन्स्योरेन्स लिमिटेड, हिमालयन क्यापसर्भ लिमिटेड, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड साथै रोहित गुप्ता र शेखर गोल्छा रहेका छन्। यी पक्षहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कारोबार संरचना सहज बनाएको आशंका गरिएको छ।
यो प्रकरणले नेपालकै पूँजीबजारमा ‘नेटवर्क्ड म्यानिपुलेसन’ कति गहिरोसँग जरा गाडेको छ भन्ने देखाएको छ। प्रविधि, ब्रोकर संरचना र संस्थागत पहुँचको दुरुपयोग गर्दै सीमित समूहले बजार प्रभावित पार्दा साना लगानीकर्ताको विश्वासमा गम्भीर धक्का पुगेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया