काठमाडौं । सशस्त्र प्रहरी बलका वर्तमान महानिरीक्षक राजु अर्याल आफ्नो चारवर्षे कार्यकाल पूरा गरी आगामी वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। अर्यालको बिदाइको समय नजिकिएसँगै संगठनको नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा यतिबेला सुरक्षा वृत्तमा व्यापक चर्चा सुरु भएको छ।
महानिरीक्षक पदका लागि सशस्त्र प्रहरीका दुई अतिरिक्त महानिरीक्षक-नारायणप्रसाद पौडेल र वंशी दाहाल-मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। तर विगतको व्यावसायिक अभिलेख र वर्तमान परिस्थितिको विश्लेषण गर्दा यस प्रतिस्पर्धामा वंशी दाहालको सम्भावना बलियो देखिएको छ।
दुवै दाबेदार एउटै ब्याचका अधिकारी हुन्। उनीहरूले २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरी २०५८ मा सशस्त्र प्रहरीमा समायोजन भएका थिए। संगठनभित्रको ज्येष्ठता क्रम हेर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तहसम्म वंशी दाहाल नै नारायणप्रसाद पौडेलभन्दा अगाडि थिए। पछिल्लो समयमा विभिन्न कारणले पौडेल अघि बढाइए पनि साङ्गठनिक पद्दति र व्यावसायिक मर्यादाका आधारमा दाहाललाई स्वाभाविक उत्तराधिकारीका रूपमा हेरिएको छ।
सशस्त्र प्रहरी नियमावली २०७२ ले पदोन्नतिको आधारका रूपमा ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता र आर्थिक अनुशासनलाई प्राथमिकता दिएको छ। यी सूचकहरूका आधारमा दाहालको छवि स्वच्छ र विवादरहित मानिन्छ।
अर्कोतर्फ, पौडेल भने विगतमा विभिन्न विवाद र कारबाहीका सिफारिसमा परेका कारण आलोचनाको केन्द्रमा रहँदै आएका छन्। गणपति तथा तालिम केन्द्रको समादेशक रहँदा रासनसम्बन्धी अनियमितताको आरोपमा कारबाही भोगिसकेको प्रसंग होस् वा गत भदौमा भएको युवा आन्दोलनका क्रममा कार्य विभाग प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्दा लापरबाही गरेको भन्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले विभागीय कारबाही सिफारिस गरेको विषय-यी घटनाले उनको छविमा प्रश्न उठाएका छन्। सोही सिफारिसमा नायब महानिरीक्षक (डीआईजी) सुरज श्रेष्ठ र प्रहरी उपरीक्षक (एसपी) जीवन केसी पनि परेका थिए।
प्रहरी नियमावलीअनुसार गम्भीर प्रकृतिका विभागीय कारबाहीको सिफारिसमा परेका तथा आर्थिक अनियमिततामा जोडिएका व्यक्तिलाई संगठनको सर्वोच्च पदमा नियुक्त गर्दा संस्थागत साख र मनोबलमा असर पर्न सक्ने जोखिम रहन्छ।
यस पृष्ठभूमिमा, विवादरहित छवि, सुदृढ साङ्गठनिक क्षमता र आर्थिक रूपमा स्वच्छ मानिएका वंशी दाहाललाई नयाँ नेतृत्वका लागि उपयुक्त विकल्पका रूपमा हेरिएको छ। ज्येष्ठता र व्यावसायिक निष्ठाको आधारमा उनी नै सशस्त्र प्रहरी बलको आगामी नेतृत्व सम्हाल्ने सम्भावना प्रबल देखिन्छ।
आर्थिकन्यूज
प्रतिक्रिया