काठमाडौं । नेपालको अग्रणी स्टक ब्रोकरेज कम्पनी नासा सेक्युरिटिज प्रा. लि.ले आफ्ना ग्राहकहरूका लागि नासा एक्स (Naasa X) वेब प्लेटफर्म मार्फत नयाँ “After Market Order” (AMO) सुविधा सुरु गरेको घोषणा गरेकोछ।
यस नवीन सुविधा मार्फत ग्राहकहरूले नियमित कारोबार समयबाहेक पनि शेयर किन्ने तथा बेच्ने अर्डर राख्न सक्नेछन्, जसले लगानीकर्तालाई थप लचकता र सहजता प्रदान गर्नेछ।
नेपाल स्टक एक्सचेन्जको कारोबार समय बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म (नेपाली समय) सञ्चालन हुने गर्दछ। After Market Order सुविधा सुरु भएसँगै अब नासा सेक्युरिटिजका ग्राहकहरूले दिउँसो ३:०० बजेपछि र बिहान ११:०० बजे अघि अर्थात नियमित बजार समय भन्दा बाहिर पनि अर्डर राख्न सक्ने छन्।
यस्ता अर्डरहरू अर्को कारोबार दिन बजार खुल्ने समयमा प्रचलित बजार अवस्था अनुसार स्वचालित रूपमा कार्यान्वयन हुनेछन्।
यो सुविधा विशेषरूपमा निम्न समूहका लगानीकर्ताका लागि अत्यन्त उपयोगी हुनेअपेक्षा गरिएकोछ:
* विभिन्न समय क्षेत्र (Time Zone) मा रहेका विदेश स्थित नेपाली नागरिकहरू
* कारोबार समयमै समय निकाल्न नसक्ने कामकाजी पेशाकर्मीहरू
* दिनभर व्यस्त रहने व्यवसायी तथा अन्य व्यक्तिहरू
After Market Order सुविधाको सुरुवातले नेपालको पूँजीबजारलाई थप सुलभ,समावेशी र पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
जसले लगानीकर्तालाई समयको सीमाबिना सक्रियरूपमा बजारमा सहभागिता जनाउन सक्षम बनाउनेछ।हाल यो सुविधा नासा एक्स वेब संस्करणमा उपलब्ध रहेको छ भने भविष्यमा यसलाई मोबाइल एप्लिकेसनमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएकोछ।
उक्त सुविधा कार्यान्वयन गर्नु अघि नासा सेक्युरिटिजले सिक्युरिटिज बोर्ड अफ नेपाल (SEBON) तथा नेपाल स्टक एक्सचेन्ज (NEPSE) लगायत सम्बन्धित नियामक निकायबाट गत साता स्वीकृति प्राप्त गरेको थियो।
नासा सेक्युरिटिजले यसबारे आफ्नो धारणा यसरी व्यक्त गरेको छ:
“हामी आफ्ना ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै निरन्तर नवीन सेवा र सुविधा विकास गर्दै आएका छौं। After Market Order सुविधा ग्राहकहरूलाई थप लचकता र सहजता प्रदान गर्ने उद्देश्यले ल्याइएको हो, जसले समयको सीमाका कारण कुनै पनि लगानी अवसर गुम्न नदिने सुनिश्चितता गर्नेछ।”
नासा सेक्युरिटिजले नेपालमा प्रविधि र नवप्रवर्तनको माध्यमबाट प्रभावकारी, प्रयोगमैत्री तथा ग्राहक केन्द्रित ब्रोकरेज सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया