शीर्षकहरू

खानेपानीका इन्जिनियर यादवविरुद्ध १ करोड ४६ लाखबिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर

खानेपानीका इन्जिनियर यादवविरुद्ध १ करोड ४६ लाखबिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार यादवको सम्पत्ति विवरण र आम्दानी–खर्चको विश्लेषण गर्दा करिब १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बराबरको स्रोत पुष्टि हुन नसकेको देखिएको छ।

अनुसन्धानका क्रममा यादव तथा उनको परिवारले विभिन्न आम्दानी स्रोत देखाए पनि खर्च तथा लगानीको तुलनामा वैध आम्दानी पर्याप्त नभएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ। उक्त अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, सेयर लगानी, विद्युत उपकरण तथा अन्य खर्चहरू गरिएको देखिएको छ।

आयोगका अनुसार यादवले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुने आधार भेटिएको छ। सो सम्पत्ति उनकी श्रीमतीको नाममा समेत राखिएको पाइएको छ।

उक्त आधारमा यादव र उनकी श्रीमतीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको आयोगले जनाएको छ। विशेष अदालतमा दायर मुद्दामा बिगो जफतसहित कानुनी कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया