काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एकैपटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरूको लाइसेन्स दर्ता खारेज गरिएको हो। ती चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट समेत हटाइएको उनले जानकारी दिए।
नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३अनुसार नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका चिकित्सकलाई नेपालमा अभ्यास गर्न पाउने अनुमति नहुने व्यवस्था रहेको काउन्सिलले स्पष्ट पारेको छ।
लाइसेन्स खारेजीमा परेका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुसाल, डा. मोती गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. नीरञ्जनदेव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजीव हमाल, डा. सलुजा सिंह थारु, डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दीपेन ढकाल र डा. तुसार सरवजना रहेका छन्।
काउन्सिलका अनुसार ती चिकित्सकहरूले बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, भारत, पोर्चुगल तथा हङ्कङलगायत देशको नागरिकता लिएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया