काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। धितोपत्रसम्बन्धी कसूरको अनुसन्धानका क्रममा पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति दिइएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो। पक्राउपछि २४ घण्टाभित्र अदालतमा उपस्थित गराइएपछि अदालतले प्रारम्भिक अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो।
सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उक्त मुद्दामा अनुसन्धान अघि बढाइएको हो। दीपक भट्टसमेत जोडिएको भनिएको विवादित सेयर कारोबारमार्फत अर्बौँ रुपैयाँ हिनामिना भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सरकारी दाबीअनुसार उक्त प्रकरणमा गोल्छासहित ५ जना संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। सरकारले गृहमन्त्री सुधन गुरुङको राजीनामापछि सोही दिन गोल्छालाई पक्राउ गरेको हो।
सीआईबीले जारी गरेको विज्ञप्तिमा धितोपत्र सम्बन्धी ऐन, २०६३ का विभिन्न दफाअन्तर्गत कसूरको आशंकामा अनुसन्धान अघि बढाइएको उल्लेख छ। पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएका गोल्छामाथि थप प्रमाण संकलन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया