शीर्षकहरू

धितोपत्र बोर्ड र बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

धितोपत्र बोर्ड र बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड  र नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सेबोन अध्यक्षका लागि योग्य उम्मेदवार सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्। उक्त समितिले सेबोन अध्यक्ष पदका लागि योग्य उम्मेदवारहरूको सिफारिस गर्नेछ।

हालै सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। यससँगै सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया पनि नयाँ ढंगले अघि बढाएको छ। सोही बैठकले यसअघिको छनोट प्रक्रिया खारेज गर्दै नयाँ समिति गठन गरेको हो।

बीमा प्राधिकरण अध्यक्ष छनोटका लागि पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टकै संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा फत्त बहादुर केसी रहेका छन्।

यसअघि प्राधिकरण अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढिसकेको थियो, जसमा ११ जनाले आवेदन दिएका थिए। तर पुरानो प्रक्रिया खारेज भएसँगै अब नयाँ सिफारिस समितिबाटै अन्तिम छनोट हुने भएको छ।

प्रतिक्रिया