शीर्षकहरू

याम्बालिङ्ग हाइड्रोको १७.४३ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

याम्बालिङ्ग हाइड्रोको १७.४३ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्यका २८ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

स्थानीय बासिन्दाका लागि ७ लाख कित्ता र विदेशमा रहेका नेपालीका लागि २ लाख १० हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ। साथै १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। अब बाँकी रहेको १७ लाख ४३ हजार कित्ता (१७ करोड ४३ लाख रुपैयाँ बराबर) सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ भने माग अनुसार अवधि वैशाख ३० गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूका शाखाबाट तथा ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ्गतर्फ केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत करिब १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ।

वित्तीय रूपमा कम्पनीले चालु आर्थिक वर्षमा १५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ भने सञ्चालन नाफा मार्जिन ८५ प्रतिशतभन्दा बढी रहेको छ। कम्पनीले आईपीओबाट उठेको रकममध्ये २८ करोड रुपैयाँ ऋण भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ।

कम्पनीका अनुसार उत्पादन सुधारोन्मुख अवस्थामा रहेको, स्थिर ब्याजदर र दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) जस्ता पक्ष सकारात्मक भए पनि उच्च ऋण भार र नदी प्रवाहमा निर्भरता प्रमुख चुनौतीका रूपमा रहेका छन्।

प्रतिक्रिया