शीर्षकहरू

नर्भिक हस्पिटलको आईपीओ बुक-बिल्डिङ रोड शो सम्पन्न, संस्थागत लगानीकर्ताको उत्साहजनक सहभागिता

नर्भिक हस्पिटलको आईपीओ बुक-बिल्डिङ रोड शो सम्पन्न, संस्थागत लगानीकर्ताको उत्साहजनक सहभागिता

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम बैशाख ११ गते काठमाडौंको नक्सालस्थित होटल मेरियटमा आयोजना गरिएको थियो ।

निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको आयोजनामा भएको उक्त कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कन प्रक्रियाबारे आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए ।

नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले अस्पतालको वर्तमान सञ्चालन अवस्था, वित्तीय प्रदर्शन तथा भविष्यका रणनीतिक योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । उन को प्रस्तुतिले लगानीकर्तालाई अस्पतालको दीर्घकालीन सम्भावना र विस्तार योजनाबारे स्पष्ट बुझाइ दिएको बताइएको छ ।

त्यसैगरी, लक्ष्मी सनराइज क्यापिटलले बुक-बिल्डिङ प्रक्रिया, मूल्य निर्धारण आधार, माग विश्लेषण तथा नियामक प्रावधानबारे विस्तृत जानकारी गराएको थियो । सहभागी लगानीकर्ताहरूले प्रक्रिया पारदर्शी, व्यावसायिक र विश्वासयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै नेपालको पुँजी बजारमा बुक-बिल्डिङ प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसले बजार–आधारित मूल्य निर्धारण र संस्थागत लगानीकर्ताको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ ।

बुक–बिल्डिङ प्रक्रियाको अर्को चरणअन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा मूल्य प्रस्ताव शिलबन्दी खाममा आगामी ५ कार्य दिनभित्र अर्थात् वैशाख २१ गते साँझ ५ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया