काठमाडौं। एभरेष्ट कलर लिमिटेडले आज (वैशाख १६) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ।
कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतबराबर ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याएर बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २२ गते तोकिएको छ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा वैशाख ३० गतेसम्म अवधि थपिने कम्पनीले जनाएको छ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिने व्यवस्था पनि गरिएको छ।
क्रेडिट रेटिङतर्फ केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
आर्थिकन्यूज
प्रतिक्रिया