शीर्षकहरू

सेबोन अध्यक्ष छनोट प्रक्रिया सुरु, सात दिनभित्र दरखास्त आह्वान

सेबोन अध्यक्ष छनोट प्रक्रिया सुरु, सात दिनभित्र दरखास्त आह्वान

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन आह्वान गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गत रहेको समितिले सूचना जारी गर्दै योग्य उम्मेदवारलाई सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) सहित दरखास्त पेश गर्न आग्रह गरेको हो।

समितिका अनुसार योग्य उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै धितोपत्र बजार, वित्तीय क्षेत्र, व्यवस्थापन, कानून, अर्थशास्त्र, लेखा, वाणिज्य, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा पर्याप्त अनुभव भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी फौजदारी अभियोगमा नैतिक पतन हुने गरी सजाय नपाएको, दामासाहीमा नपरेको तथा हितको द्वन्द्व नहुने व्यक्तिलाई योग्य ठहर गरिने समितिले जनाएको छ।

समितिले प्राप्त आवेदनहरूको मूल्यांकन गरी प्रारम्भिक छनोटपछि अन्तर्वार्ताका लागि उम्मेदवारलाई बोलाउनेछ। त्यसपछि सर्टलिस्टमा परेका नाममध्येबाट सरकारले सेबोनको अध्यक्ष नियुक्त गर्नेछ।

यसअघि तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि नेतृत्वविहीन बनेको सेबोनमा नयाँ अध्यक्ष चयन प्रक्रिया सुरु भएसँगै पूँजीबजार सुधार, नीतिगत निर्णय तथा नियामकीय कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ।

null

प्रतिक्रिया