शीर्षकहरू

नेप्से अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा, अर्थमन्त्रीलाई बुझाए पत्र

नेप्से अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा, अर्थमन्त्रीलाई बुझाए पत्र

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बस्यालले सोमबार साँझ मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका थिए । उनले राजीनामाको कारण व्यक्तिगत र विशेष परिस्थितिसँग सम्बन्धित रहेको बताएका छन् ।

राजीनामा दिनुअघि बस्यालले राजस्व सचिवलाई भेटेर पत्र बुझाउने प्रयास गरेका थिए । तर, सचिवले राजीनामा पत्र अर्थमन्त्रीलाई नै बुझाउन सुझाव दिएपछि उनी साँझ अर्थमन्त्रीसँग भेट्न पुगेका थिए । अर्थमन्त्रीले राजीनामा स्वीकार गर्दै बस्यालको कार्यकालप्रति धन्यवाद व्यक्त गरेका छन् ।

बस्याललाई तत्कालीन सरकारले २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो । यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

यससँगै सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्से दुवै प्रमुख नेतृत्वविहीन बनेका छन्। केही समयअघि मात्र सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पनि पदबाट राजीनामा दिएका थिए ।

सरकारले सेबोन अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ, जसमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्।

चार्टर्ड फाइनान्सियल एनालिस्ट समेत रहेका बस्यालको व्यावसायिक पृष्ठभूमि र अनुभवले नेप्सेको संरचनात्मक सुधार तथा बजार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको थियो ।

बस्यालले नेप्से अध्यक्ष पदबाट राजीनामा दिएसँगै बजार सुधार र आगामी नेतृत्वबारे चासो बढेको छ । उनी यसअघि धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पदका लागि समेत उम्मेदवार बनेका थिए।

नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाको एजेन्डाअनुसार काम गरेको आरोप लगाउँदै नेप्सेका कर्मचारीहरूले केही महिना अघि आन्दोलन समेत गरेका थिए।

अध्यक्ष बस्याललाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो भने प्रमुख कार्यकारी अधिकृत पनि सोही सरकारले नियुक्त गरेको थियो।

प्रतिक्रिया