काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७३ अंकले बढेर २,७९६.४३ विन्दुमा पुगेको छ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३५१ कम्पनीका १ करोड ८ लाख ९९ हजार ४६१ कित्ता सेयर ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आज कारोबारमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहका सूचक बढेका छन् भने लगानी, व्यापार र अन्य समूहका सूचक घटेका छन्।
सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र सिटी होटलको सेयर मूल्य १५ प्रतिशतसम्मले वृद्धि भएको छ। झापा इनर्जीको सेयर पनि करिब ९.४४ प्रतिशतले बढेको छ।
त्यस्तै, निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको मूल्य सर्वाधिक १४.०१ प्रतिशतले घटेको छ भने माई खोला हाइड्रोपावर १० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको करिब ३० करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि आँखु खोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेशनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरमा उच्च कारोबार देखिएको छ।
समग्रमा, बजारमा सीमित अंकको सुधार देखिए पनि लगानीकर्ताको सक्रियता घट्दा कारोबार रकममा कमी आएको देखिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया