काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त अवधिमा २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ७८ करोड रुपैयाँको तुलनामा ०.३४ प्रतिशतले मात्र बढी हो ।
बैंकको खुद ब्याज आम्दानी भने बढेर ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो ७ अर्ब १० करोड रुपैयाँ थियो । यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी भने घटेर ६८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ७५ करोड ३९ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १२.५२ प्रतिशतले बढ्दै ४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.९४ प्रतिशतले बढी हो । वितरणयोग्य मुनाफा बढेसँगै बैंकको लाभांश क्षमता पनि २.७८ प्रतिशतबाट बढेर २.९२ प्रतिशत पुगेको छ ।
रिटेन्ड अर्निङ पनि सकारात्मक बनेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर ३२ करोड १३ लाख रुपैयाँले धनात्मक बनेको छ । बैंकको रिजर्भ २४ अर्ब १३ करोड रुपैयाँबाट बढेर २५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
खर्चतर्फ बैंकले कस्ट अफ फण्ड घटाउन सफल भएको छ । यो ३.९६ प्रतिशतबाट घटेर ३.१३ प्रतिशतमा झरेको छ। यस्तै, खराब कर्जा अनुपात (एनपीएल) पनि ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा आएको छ । बेस रेट समेत ५.९६ प्रतिशतबाट घटेर ४.७१ प्रतिशतमा सीमित भएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ, पीई रेसियो १०.९७ गुणा र तरलता अनुपात ४१.०३ प्रतिशत कायम भएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया