काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँको तुलनामा ३.७१ प्रतिशतले कम हो।
बैंकको नाफामा सामान्य गिरावट देखिए पनि सञ्चालन आम्दानी र व्यवसाय विस्तारमा भने सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९.२२ प्रतिशतले बढी हो।
खुद ब्याज आम्दानी पनि बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिशन आम्दानी १ अर्ब ९ करोडबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। यद्यपि, सञ्चालन मुनाफा भने ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ।
चैत मसान्तसम्म बैंकको कुल निक्षेप ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप र कर्जा दुवैमा उल्लेख्य वृद्धि भएको हो।
१३ अर्ब ७२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष १५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतभन्दा बढी वृद्धि हो।
सकारात्मक पक्षतर्फ बैंकले निष्क्रिय कर्जा (एनपीएल) घटाउन सफल भएको छ। अघिल्लो वर्ष ०.६४ प्रतिशत रहेको खराब कर्जा घटेर ०.६१ प्रतिशतमा झरेको छ।
बैंकको प्रति सेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ३५ पैसा, प्रति सेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ। रिटर्न अन इक्विटी (आरओई) भने १५.८२ प्रतिशतबाट घटेर १३.५६ प्रतिशतमा झरेको छ।
तरलता र लागत सूचक पनि सुधारोन्मुख छन्। कस्ट अफ फण्ड ४.११ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा आएको छ भने आधार दर ५.४५ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा झरेको छ।
समग्रमा नाफामा सामान्य दबाब देखिए पनि ब्याज आम्दानी, निक्षेप विस्तार र खराब कर्जा नियन्त्रणले बैंकको आधारभूत वित्तीय स्थिति सन्तुलित रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया