शीर्षकहरू

राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता तान्दै, बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको दबाब कायमै

राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता तान्दै, बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको दबाब कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यो निक्षेप संकलनमा सहभागी हुन सक्नेछन्। संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष हुने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउनेछन्। बहुब्याजदरमा पनि प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ।

४९ दिन अवधिको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असार ३ गते भुक्तानी गरिनेछ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा करिब १२ खर्ब रुपैयाँ लगानीयोग्य तरलता थुप्रिएको छ। कर्जाको माग कमजोर हुँदा बैंकहरूले संकलन गरेको निक्षेप लगानीमा रूपान्तरण हुन नसकेको हो।

बैंकर्स संघका अनुसार कर्जाको माग सुस्त रहेकै कारण बजारमा पैसा थुप्रिएको छ। अहिले औसत कर्जा ब्याजदर ६.९ प्रतिशतमा झरे पनि नयाँ कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन।

बैंकहरूको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी केवल करिब ७ अर्ब रुपैयाँले वृद्धि भएको छ। ७१ खर्ब निक्षेप संकलन गरी करिब ५२ खर्ब कर्जा लगानी गरे पनि आम्दानी वृद्धिदर कमजोर देखिएको छ।

विशेषगरी निजी क्षेत्रको लगानी मनोबल कमजोर रहँदा कर्जाको माग बढ्न नसकेको बैंकरहरूको भनाइ छ। केही जलविद्युत आयोजनाबाट मात्र सीमित कर्जा माग आएको छ भने ठूला औद्योगिक तथा नयाँ परियोजनामा लगानी विस्तार देखिएको छैन।

लगानी वातावरणप्रति व्यवसायीहरू अझै अनिश्चित रहेको भन्दै आगामी बजेटपछि मात्रै नयाँ लगानी निर्णय हुने उद्योगीहरूको भनाइ छ।

यसबीच बैंकहरूको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट बढेर ५.२५ प्रतिशत पुगेको छ। यद्यपि कर्जा असुली प्रक्रियामा सुधार देखिएपछि कर्जा जोखिमका लागि छुट्याइने प्रावधान रकम भने घटेको छ।

वित्तीय सूचक कमजोर हुँदा केही बैंकहरू लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन्। हालै सार्वजनिक विवरणअनुसार ६ वटा वाणिज्य बैंकले यस वर्ष लाभांश दिन नसक्ने देखिएको छ भने अन्य बैंकहरूले पनि न्यून लाभांश क्षमता मात्र देखाएका छन्।

प्रतिक्रिया