काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म वाणिज्य बैंकहरूको खुद नाफा १५.९९ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा १९ वाणिज्य बैंकले कुल ४६ अर्ब ४४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको नाफा ४० अर्ब ४ करोड रुपैयाँ थियो ।
समग्र नाफा वृद्धि भए पनि बैंकिङ क्षेत्रको प्रदर्शन एकरूप देखिएको छैन। केही बैंकले तीव्र सुधार देखाउँदा केही ठूला बैंकहरू दबाबमा परेका छन्। व्यवसाय विस्तार सुस्त रहे पनि ब्याज खर्च घटेकाले समग्र नाफा वृद्धि भएको देखिएको हो । निक्षेपको ब्याजदर घट्दा ब्याज खर्च कम भएको र नियामकीय सहुलियतले बैंकहरूको नाफा बढ्न सहयोग पुगेको बैंकिङ क्षेत्रका अधिकारीहरूको भनाइ छ ।
वित्तीय विवरण सार्वजनिक गरेका १९ बैंकमध्ये १२ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको विवरण भने सार्वजनिक गरिएको छैन ।
यस अवधिमा कुमारी बैंकको नाफा सबैभन्दा उच्च १३६१.८६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष प्रोभिजनिङका कारण प्रभावित बनेको बैंकले यो वर्ष उल्लेख्य सुधार गर्दै ४ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । गत वर्ष मात्र २८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु वर्ष ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्दै १३६१.८६ प्रतिशतको असाधारण वृद्धि गरेको छ।
नाफाको आधारमा भने नबिल बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले तेस्रो त्रैमाससम्म ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३३.९२ प्रतिशतले बढी हो।
ग्लोबल आइएमई बैंक ४ अर्ब ४० करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ भने कुमारी बैंक नाफा वृद्धिसँगै शीर्ष तीनमा उक्लिएको छ। एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
समग्र सुधारका बीच केही बैंकहरूको नाफा भने घटेको देखिन्छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया, ग्लोबल आइएमई, कृषि विकास बैंक र प्रभु बैंकको नाफा भने घटेको छ ।
प्रभु बैंकको नाफा ५४.६१ प्रतिशतले घट्नु यस अवधिको सबैभन्दा ठूलो गिरावट हो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेको छ। यी गिरावटहरू मुख्यतः खराब कर्जा व्यवस्थापन, बढ्दो प्रोभिजनिङ खर्च र मर्जरपछिको संरचनागत चुनौतीसँग जोडिएका छन्।
कर्जा असुलीमा केही दबाब रहे पनि राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण सुविधा तथा जोखिम भार घटाइदिएका कारण नाफामा सुधार देखिएको हो । ब्याजदर घटेसँगै लागत घटे पनि कर्जा माग सुस्त रहँदा बैंकहरूको दीर्घकालीन आम्दानी संरचना भने दबाबमा रहेको छ ।
बजार विश्लेषण गर्दा समग्र बैंकिङ क्षेत्र अझै मिश्रित अवस्थामा रहेको देखिन्छ। एकातर्फ तरलता सहजता र ब्याजदर स्थिरताले बैंकहरूको ब्याज आम्दानीलाई सहयोग पुर्याएको छ, जसले समग्र नाफा वृद्धिमा योगदान दिएको छ। अर्कोतर्फ कर्जा विस्तार अपेक्षित रूपमा नबढ्नु, लगानीको माग कमजोर रहनु र खराब कर्जा बढ्नुले केही बैंकहरूको नाफा क्षमतामा दबाब सिर्जना गरेको छ।
समग्रमा, बैंकिङ क्षेत्रले नाफा वृद्धिको सकारात्मक संकेत दिएको भए पनि बैंक-बैंकबीचको प्रदर्शनमा देखिएको ठूलो असमानताले बजार अझै सन्तुलित चरणमा प्रवेश गरिनसकेको स्पष्ट हुन्छ।

आर्थिकन्यूज
प्रतिक्रिया