काठमाडौं । लामो समदेखि २६ सय अंकको वरिपरि घुमिरहेको शेयर बजार पछिल्लो ५ कारोबार दिन लगातार बढेर २७ सय अंक नाघेको छ । पछिल्लो ५ कारोबार दिनमा नेप्से सूचक १०८ अंकले बढेको हो । सूचकसँगै कारोबार रकममा समेत बढोत्तरी आएपछि बजार वृद्धिले निरन्तरता पाउने आँकलन लगानीकर्ताले गरेका छन् ।
विहीबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३४.४२ अंकले बढेको थियो । मंगलबार २८.९१, सोमबार ९.१९ तथा गत आइतबार नेप्से २६.५३ अंकले बढेको थियो । यो साताको चार कारोबार दिनमा नेप्से झन्डै सय अंकले उकालो लागेको छ । नेप्से परिसूचक साढे २ महिनापछि २७ सय विन्दुमाथि पुगेको हो । यस अघि गत बैशाख ७ गते नेप्से २७ सय विन्दुमाथि रहेको थियो।
नेप्से बढेपनि विहीबारका बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकम सामान्य घटेको छ । बुधबार ९ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा विहीबार ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेकोा छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशत बढेको छ। त्यसतै, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत घटेको हो।
यस दिन नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावर कम्पनी र समृद्धि फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ६८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन साहस उर्जाको २७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।